ठगीको नयाँ स्वरूपः नक्कली उद्धार आरोपमा ६ जना पक्राउ

ठगीको नयाँ स्वरूपः नक्कली उद्धार आरोपमा ६ जना पक्राउ
  • १३ माघ २०८२, सोमबार ०६:१०

काठमाडौँ ।नक्कली उद्धार (फेक रेस्क्यु) को आवरणमा करोडौँ रुपैयाँ बराबरको बीमा ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो। पक्राउ परेकाहरू पर्वतारोहण तथा हेलिकप्टर उद्धार सेवामा संलग्न तीन निजी कम्पनीका सञ्चालक र व्यवस्थापक हुन्।

mulpatra

सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीका अनुसार माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया पक्राउ परेका छन्। यस्तै, एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी पनि अनुसन्धानको दायरामा ल्याइएको छ।

प्रहरी अनुसन्धानले सन् २०२२ यता नेपालको उच्च हिमाली क्षेत्रमा ३१७ जना विदेशी पर्यटकको शङ्कास्पद उद्धार गरिएको देखाएको छ। सामान्य लेक लाग्ने अवस्थालाई गम्भीर स्वास्थ्य समस्या देखाएर हेलिकप्टरमार्फत उद्धार गरिने र त्यसलाई आधार बनाएर अस्पताल भर्ना गरी बीमा कम्पनीमा ठूला रकम दाबी गर्ने गरिएको खुलेको छ।

mulpatra mulpatra mulpatra

अनुसन्धानअनुसार तीनवटै कम्पनीले नक्कली उद्धारका नाममा विदेशस्थित बीमा कम्पनीहरूबाट करिब २ अर्ब ८९ करोड रुपैयाँ बराबरको बीमा दाबी गरेका छन्। तीमध्ये माउन्टेन रेस्क्यु सर्भिसले १७१ जना, नेपाल चार्टर्ड सर्भिसले ७५ जना र एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्सले ७१ जनाको शङ्कास्पद उद्धार गरेको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार उद्धार अघि नै पर्यटकको बीमा विवरण संकलन गर्ने, चार्टर्ड उडानलाई रेस्क्यु उडानको रूपमा देखाउने र हेलिकप्टरमार्फत ल्याएपछि अनिवार्य अस्पताल भर्ना गरी कागजात तयार पार्ने अभ्यास गरिएको थियो। खुम्बु क्षेत्रमा एक जना पर्यटकबाट एउटै उडानका लागि ३१ सय अमेरिकी डलरसम्म असुलिएको तथ्यसमेत सार्वजनिक भएको छ। यस प्रकरणमा थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।