स्वास्थ्य मन्त्रालयले तयार गर्यो निपाह भाइरसको एल्गोरिदम, सचेत रहन सबैमा आग्रह
काठमाडैं । दक्षिण पूर्वी एसियामा फैलिरहेको निपाह भाइरसको स्वास्थ्य जोखिमलाई कम गर्न स्वास्थ्य मन्त्रालयले उक्त भाइरसको एल्गोरिदम (अन्तरिम) तयार गरेको जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै छिमेकी देश भारतमा समेत उक्त भाइरस देखिएकोले सार्वजनिक स्थलहरुमा जाँदा सचेत रहन आग्रह समेत गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिणपूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरिए तापनि छिमेकी मुलुकमा देखिएका निपाह भाइरसका केही घटनालाई मध्यनजर गरी देशभरका स्वास्थ्य संस्था तथा निकायलाई सचेत गराइएको तथा निपाह भाइरसको परीक्षणका आवश्यक तयारी गरिएको जनाएको छ ।
निपाह भाइरस सङ्क्रमित फलाहारी चमेराको र्याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा सङ्क्रमण हुनसक्ने, सङ्क्रमित व्यक्तिको रगत थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै पनि मानिसमा यो सङ्क्रमण सर्नसक्ने मन्त्रालयले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर खान, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पत्रा र मास्क प्रयोग गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने तथा भिडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चकर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाहो हुने, वाकवाकी लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउने, अचेत हुनेलगायत शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्नसमेत आग्रह गर्दै मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि नभएका तथा स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ ।
विज्ञप्तीः




