ट्रम्पको बमबारी धम्कीबीच अमेरिका–इरानबीच आज मस्कटमा वार्ता हुँदै
काठमाडौं– प्रत्यक्ष सैन्य मुठभेडको खतरा बढिरहेका बेला अमेरिका र इरानका उच्च अधिकारीहरू बीच ओमानमा वार्ता हुने भएको छ । वार्ता आजै अर्थात् शुक्रबार (फेब्रुअरी ६, २०२६) ओमानको राजधानी मस्कटमा हुँदैछ ।

गत वर्ष इरानमा भएको सरकार विरोधी प्रदर्शनमा सुरक्षा बलले गरेको दमन र त्यसपछि अमेरिकाले बढाएको सैन्य उपस्थितिका कारण दुई देशबीचको सम्बन्ध चरम तनावमा छ ।
मानव अधिकारवादी संस्थाहरूका अनुसार उक्त प्रदर्शनका क्रममा इरानमा करिब ७ हजार मानिसको मृत्यु भएको थियो भने ५० हजारभन्दा बढी पक्राउ परेका थिए ।
![]() |
![]() |
![]() |
|---|
मध्यपूर्वमा जारी तनाव कम गर्न र सम्भावित युद्ध टार्न क्षेत्रीय मध्यस्थकर्ताहरूको प्रयासमा यो कूटनीतिक पहल सुरु हुन लागेको हो ।
‘फिंगर अन द ट्रिगर’ देखि बमबारीको चेतावनीसम्म
इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराक्चीले गर्नेछन्, जसले हालै मात्र आफ्ना सुरक्षा निकायहरू ‘फिंगर अन द ट्रिगर’ (युद्धका लागि तैनाथ) को अवस्थामा रहेको बताएका थिए । उता, अमेरिकाको तर्फबाट विशेष दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाईं जारेड कुश्नरले वार्ताको नेतृत्व गर्नेछन् ।
Image Source: © https://mulpatra.com
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे बमबारी गर्ने चेतावनी दिँदै आएका छन् । उनले मध्यपूर्वमा हजारौँ सैनिक र अत्याधुनिक विमानवाहक जहाजसहितको ‘आर्माडा’ पठाइसकेका छन्। गत जुनमा इजरायल र इरानबीचको युद्धका क्रममा अमेरिकाले इरानका तीनवटा मुख्य आणविक केन्द्रमा बमबारी गरेयता यी दुई देशका अधिकारीहरू पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।
यी हुन् वार्ताका मुख्य अजेन्डाहरूः
विशेषगरी इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक मिसाइललाई लिएर दुवै देशबीच गम्भीर मतभेद कायम छ ।
अमेरिकाले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्न, संवर्धित युरेनियमको भण्डार नष्ट गर्न र ब्यालिस्टिक मिसाइल कार्यक्रममा लगाम लगाउन माग गरेको छ । साथै, इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम र मध्यपूर्वका सशस्त्र समूहहरूलाई दिइँदै आएको सहयोग बन्द गर्नुपर्ने अडान राखेको छ ।
तर, इरानले भने वार्ता केवल आणविक कार्यक्रममा मात्र केन्द्रित हुने अडान राखेको छ । इरानले आफ्नै भूमिमा युरेनियम संवद्र्धन गर्न पाउनु आफ्नो अधिकार भएको दाबी गर्दै आएको छ ।
यस्तै वार्तमा इरानले आफ्नो संकटग्रस्त अर्थतन्त्र सुधार्न अमेरिकाले लगाएका आर्थिक प्रतिबन्धहरू हटाउनुपर्ने सर्त राख्नेछ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आणविक मुद्दाभन्दा बाहिर गएर छलफल नभए वार्ताको कुनै अर्थ नहुने स्पष्ट पारेका छन् । ट्रम्पले त इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई ‘निकै डराउनुपर्ने’ चेतावनी समेत दिइसकेका छन् ।
टर्की, इजिप्ट र कतारको मध्यस्थतामा सुरु हुन लागेको यो वार्ताले मध्यपूर्वमा शान्ति ल्याउँछ वा युद्धको विगुल फुक्छ भन्नेमा विश्वको नजर टिकेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



