झापा–१ मा नयाँ र पुराना अनुहारबीच राेचक भिडन्त हुँदै५ वटा वडा मात्र ३६.२० प्रतिशत मतदाता रहेकोले त्यही वडाहरु निर्णायक बन्ने देखिएको छ
झापा – आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। अधिकांश दलले नयाँ अनुहारलाई उम्मेदवार बनाएसँगै यस क्षेत्रको प्रतिस्पर्धा नयाँ अनुहारमा हुने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी भने अघिल्लो प्रतिनिधिसभाकी सदस्य भएकाले एक्लो ‘पुरानो अनुहार’ का रूपमा मैदानमा छिन्।

नेपालको प्रमुख नाका मध्येको पुर्वको काँकडभिट्टा नाकासहित भारतसँग सीमा जोडिएको यो संवेदनशील क्षेत्रमा दलहरू टोल टोलमा संगठन चलायमान बनाउँदै मतदाता भेटघाट र आन्तरिक तयारीमा जुटेका छन्। औपचारिक प्रचारप्रसार सुरु हुन बाँकी रहे पनि उम्मेदवारहरू घरदैलो, कार्यकर्ता भेला र भेटघाटमा व्यस्त देखिन्छन्।
प्रमुख उम्मेदवार को–को छन् ?
झापा–१ मा यसपटक १३ राजनीतिक दल र २ जना स्वतन्त्रसहित १५ उम्मेदवार चुनावी मैदानमा छन्। प्रमुख प्रतिस्पर्धा भने एमाले, कांग्रेस र रास्वपाबीच हुने आकलन गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
नेकपा एमालेका रामचन्द्र उप्रेती– सहकारी अभियन्ता र पुराना वामपन्थी नेता उप्रेती स्वच्छ छवि र सामाजिक योगदानलाई मुख्य आधार बनाउँदै चुनावी मैदानमा छन्। चिया खेतिको प्रमुख क्षेत्र रहेको झापा १मा चिया खेतिको विकास, नगदेवालीका रुपमा रहेको सुपारी खेतिको विस्तार र निर्यातको वातावरण, सडक, खानेपानी, स्वास्थ्य, नदी कटान नियन्त्रण र हात्ती आक्रमण समाधान उनका प्राथमिकता हुन्। उप्रेती पञ्चायत विरोधी आन्दोलनका क्रममा २०४३ सालमा दुई वर्ष जेल जीवन समेत बिताएका थिए।
नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे– युवा, व्यवसायिक पृष्ठभूमि भएका पाण्डे आफूलाई ‘सच्चिएको र परिष्कृत कांग्रेस’को प्रतिनिधि बताउँदै आएका छन्। सीमा क्षेत्रको व्यवस्थापन, व्यापार सहजीकरण, कृषि उद्यमशीलता, सिँचाइ र हात्ती आतंक समाधान उनका मुख्य एजेन्डा हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की निशा डाँगी– अघिल्लो प्रतिनिधिसभाकी समानुपातिक सांसद डाँगी यस क्षेत्रकी एक्ली पुरानो अनुहार हुन्। भ्रष्टाचारविरुद्धको अभियान, सुशासन र नयाँ राजनीतिक संस्कारलाई उनी मुख्य एजेन्डा बनाउँदै छिन्। क्षेत्र नम्बर १ को भूगोल उनका लागि नयाँ भए पनि आफूलाई मतदाताले स्वीकार्नेमा उनी आशावादी छिन्।
Image Source: © https://mulpatra.com
नेपाली कम्युनिस्ट पार्टीका अशेष घिमिरे–विद्यार्थी राजनीतिबाट आएका युवा इन्जिनियर घिमिरे ‘गरिब हुनु अपराध होइन’ भन्ने नारासहित मैदानमा छन्। उनी विद्यार्थी राजनीतिबाट आएका हुन्। उनी इन्जिनियरिङ क्षेत्रमा भएर पनि राजनीतिमा अग्रसर युवा हुन्। उनी भुइँमान्छेहरूको एजेण्डा बोकेर हिडेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हेमराज कार्की–पूर्व प्राध्यापक कार्की राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र र संघीयता खारेजीको एजेन्डा बोकेर चुनावी अभियानमा छन्। लामो समय प्राध्यापक पेसामा बिताएकाले बौद्धिक मतदाताको रोजाइमा पर्ने विश्वासमा छन् ।
झापा–१ को भूगोल र मतदाताः
झापा निर्वाचन क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाका १५ वडा, बुद्धशान्ति गाउँपालिकाका ४ वडा वडा ४, ५, ६ र ७ र भद्रपुर नगरपालिकाका २ वडा वडा नं. ९ र १० समेटिएका छन्।
निर्वाचन कार्यालयका अनुसार यहाँ कुल १ लाख ३१ हजार ६७ मतदाता छन्। तीमध्ये ६५ हजार ८५८ पुरुष र ६५ हजार २९ महिला छन्। यसपटक थपिएका १० हजार ६९२ नयाँ मतदातालाई सबै दलले निर्णायक शक्तिका रूपमा हेरेका छन्। काँकडभिट्टा र धुलाबारी क्षेत्रका वडाहरू (काँकडभिट्टा ६–७, धुलाबारी ९–१०) लाई चुनावको ‘टर्निङ पोइन्ट’ मानिएको छ।
विगतको भोट विश्लेषणः
२०७० सालमा पुर्व मेयर रबिन कोइरालाले कांग्रेस नेता विश्वप्रकाश शर्मालाई पराजित गरेका छन् । २०७४ सालमा वाम गठबन्धनका माओवादी उम्मेदवार राम कार्की विजयी भएका थिए। कांग्रेसका विश्वप्रकाश शर्मा लाई पराजित गर्दै उनी विजयी भएका थिए । २०७९ सालको निर्वाचनमा भने कांग्रेसका विश्वप्रकाश शर्माले एमालेका अग्नि खरेललाई पराजित गर्दै जित निकाले।
संविधानसभा निर्वाचन २०७० सालमा नेकपा (एमाले)का रवीन कोइरालाले १७,२२९ मत ल्याएका थिए भने पराजित भएका नेपाली काङ्ग्रेसका नेता विश्वप्रकाश शर्माले १६,५४० मत ल्याएका थिए भने नेकपा माओवादीका बोधराज दाहालले ६,८५८ मत ल्याएका थिए ।
२०७४ सालको निर्वाचनमा भने नेकपा एमाले र माओवादी एकिकृत भइ बनेको नेकपाका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले ३६,१७३ मत ल्याई विजयी हुँदा नेपाली काङ्ग्रेसका नेता विश्वप्रकाश शर्माले ३३,३१० मत ल्याएका थिए ।
२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा भने नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले ३९,६२४ मत ल्याइ विजयी भएका थिए भने नेकपा एमालेका नेता अग्नीप्रसाद खरेलले २५,३४९ मत ल्याएका थिए ।
२०७९ को समानुपातिक मत परिणामलाई हेर्दा नेपाली कांग्रेसले २५,४२० मत ल्याएको थियो । नेकपा एमालेले २२,५४७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) १३,७५० मत ल्याउँदा माओवादी केन्द्रले ५,००० मत ल्याएको थियो ।
वडागत मतदातालाई हेर्दा सबैभन्दा बढी मतदाता मेचीनगर नगरपालिका वडा नं. ६ मा मात्र १११२९ मतदाता रहेका छन् । मेचीनगरकै वडा नं. १० मा १०७७५, त्यसपछि बुद्धशान्ती वडा नं. ४ मा मात्र ९४७१ मतदाता रहेका छन् । मेचीनगर वडा नं. ९ मा ९२९२, भद्रपुर वडा नं. १० मा ६७८२ मतदाता रहेका छन् । यसरी हेर्दा ५ वटा वडामा मात्र ४७४४९ मतदाता रहेका छन् ।
झापा क्षेत्र नं. १ मा ५ वटा वडा मात्र ३६.२० प्रतिशत मतदाता रहेकोले त्यही वडाहरु निर्णायक बन्ने देखिएको छ । त्यही वडाहरुलाई आफ्नो भोट आधार मानेर सबै उम्मेदवार चुनावी दौडमा लागेका छन् ।
यसपटक झापा–१ मा अधिकांश उम्मेदवार नयाँ अनुहार हुँदा अघिल्लो प्रतिनिधिसभाकी सदस्य निशा डाँगी मात्र पुरानो अनुहारका रूपमा नयाँ उम्मेदवारहरूलाई चुनौती दिन आएकी छिन्। निशा डाँगीले झापा क्षेत्र नं. २ बाट प्रतिस्पर्धा गर्ने इच्छा जाहेर गरेपनि पार्टीले उनलाई क्षेत्र नं. १ को उम्मेदवार बनाएको छ । अघिल्लो प्रतिनिधिसभाकी समानुपातिक सांसद बनिसकेकि निशा डाँगीका लागि झापा क्षेत्र नं. १ को भूगोल पनि नयाँ भएको कारण जनमत परिक्षण उनका लागि कठिन देखिएको छ ।
चुनाव नजिकिँदै जाँदा बजार क्षेत्रको मत कसले आफ्नो पक्षमा पार्न सक्छ भन्ने कुराले नै अन्तिम परिणाम निर्धारण गर्ने देखिएको हुँदा झापा १ मा त्रिपक्षिय भिडन्त हुने देखिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



