कर्जा प्रवाह नहुँदा बैंकमा निक्षेप बढेर ७६ खर्ब पुग्यो
काठमाडौं–चालु आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालयले बैंक तथा वित्तीय प्रणालीमा तरलता उल्लेखनीय रूपमा बढेको जनाएको छ ।

कर्जा प्रवाह अपेक्षाअनुसार नबढ्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको र त्यसको प्रत्यक्ष असर ब्याजदरमा देखिएको छ ।
सरकारी तथ्यांकअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ४ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढीले बढेर ७६ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ ।
![]() |
![]() |
![]() |
|---|
पहिलो ६ महिनामै करिब ५.७ प्रतिशतले निक्षेप बढ्नु सकारात्मक मानिए पनि कर्जा प्रवाह भने त्यसअनुरूप हुन सकेको छैन ।
निक्षेप बढे पनि निजी क्षेत्रतर्फ जाने कर्जा जम्मा १ खर्ब ९७ अर्ब रुपैयाँले मात्र विस्तार भएको छ। हाल निजी क्षेत्रमा प्रवाह भएको कुल कर्जा ५६ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । निक्षेपको तुलनामा कर्जा विस्तार सुस्त रहँदा बैंकिङ प्रणालीमा अतिरिक्त तरलता जम्मा भएको देखिन्छ ।
तरलता प्रशस्त भएपछि कर्जाको ब्याजदर उल्लेखनीय रूपमा घटेको छ। वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर एकल अंकमा झरेर ७.१२ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.६९ प्रतिशत थियो। विकास बैंक र वित्त कम्पनीहरूको कर्जा ब्याजदर ८.३४ प्रतिशत र ९.७३ प्रतिशतमा झरेको छ ।
Image Source: © https://mulpatra.com
कर्जा सस्तो भएसँगै निक्षेपकर्ताले पाउने ब्याजदर पनि घटेको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ४.७५ प्रतिशत थियो ।
बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गरी बजारबाट पैसा तानेको छ। समीक्षा अवधिमा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल र स्थायी निक्षेप सुविधामार्फत खुद २८६ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रशोचन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो ।
तरलता प्रशस्त हुँदा अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा झरेको छ भने ९१ दिने ट्रेजरी बिलको ब्याजदर पनि २.३५ प्रतिशतमा सीमित भएको छ ।
यस्तै, चालु आर्थिक वर्षमा विस्तृत मुद्रा आपूर्ति ५.४ प्रतिशतले बढेको छ। निक्षेप संरचनातर्फ हेर्दा मुद्दती निक्षेपको हिस्सा ४२.८ प्रतिशत र बचत निक्षेपको हिस्सा ४१.३ प्रतिशत रहेको छ। चल्ती निक्षेप भने कुल निक्षेपको ६.९ प्रतिशतमा सीमित रहेको अर्थ मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



