Close

Recent Posts

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का
  • १ फाल्गुन २०८२, शुक्रबार १०:२३

काठमाडौँ । बङ्गलादेशको १३औँ राष्ट्रिय संसदीय निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुँदै जाँदा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गर्ने निश्चित भएको छ। कुल ३ सय सिटमध्ये हालसम्म २०९ सिट जित्दै बीएनपीले एकल बहुमत सुरक्षित गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रारम्भिक गणनामा १५१ सिटमा अग्रता देखिएको बीएनपीले अन्ततः निर्णायक जित निकाल्दै सरकार गठनको बाटो खुला गरेको हो।

mulpatra

यससँगै बीएनपी अध्यक्ष पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा रहमानले ढाका–१७ र बोग्रा–६ क्षेत्रबाट उम्मेदवारी दिएका थिए। मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले “जनताले आफ्नो अधिकार पुनः प्राप्त गरेको” बताएका थिए। बहुमत सुनिश्चित भएसँगै बीएनपी संसदीय दलको बैठकबाट उनलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ।

निर्वाचन बिहीबार बिहान ७ः३० बजेदेखि सुरु भई नौ घण्टासम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। देशभरका ४२,६५९ मतदान केन्द्रमा १२ करोड ७० लाखभन्दा बढी मतदाताले मतदान गरेका थिए। संसदीय निर्वाचनसँगै ‘जुलाई राष्ट्रिय बडापत्र’ सम्बन्धी जनमतसंग्रह पनि एकैसाथ सम्पन्न भएको थियो।

mulpatra mulpatra mulpatra

यस पटक ५१ राजनीतिक दलका १,९८१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। प्रारम्भिक रुझानअनुसार जमात ए इश्लामी ४३ सिट जित्दै मुख्य प्रतिपक्षको भूमिकामा रहने देखिएको छ। तीन दशकपछि पहिलोपटक अवानी लिग मतपत्रमा अनुपस्थित रहँदा निर्वाचन मुख्यतः बीएनपी नेतृत्वको गठबन्धन र जमात–ए–इस्लामीबीच प्रत्यक्ष प्रतिस्पर्धामा केन्द्रित भएको थियो।

निर्वाचन शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको भन्दै युरोपेली संघ, राष्ट्रमण्डल तथा अन्य अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले प्रशंसा गरेका छन्। करिब १० लाख सुरक्षाकर्मी परिचालन गरिएकाले मतदान केन्द्रहरू सुरक्षित देखिएका थिए। स्पष्ट जनादेशसहित बीएनपी सरकार गठनतर्फ अग्रसर हुँदा बङ्गलादेशको नयाँ राजनीतिक अध्याय सुरु हुने अपेक्षा गरिएको छ।