आज ७५ औँ प्रजातन्त्र दिवस मनाइदै

आज ७५ औँ प्रजातन्त्र दिवस मनाइदै
  • ७ फाल्गुन २०८२, बिहीबार ०७:०६

काठमाडौँ। आज नेपालमा ७५ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। वि.सं.२००७ साल फागुन ७ गते आन्दोलनको बलबाट एक शताब्दी लामो जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ।

mulpatra

सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायत अनगिन्ती ज्ञात–अज्ञात सहिदहरूको बलिदानकै कारण जहानिया राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हो ।

प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। प्रजातन्त्र दिवसको अवसरमा आज देशैभरि सरकारी विभिन्न कार्यक्रम गर्दैछन्। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागीतामा विशेष कार्यक्रम गर्दैछ।

mulpatra mulpatra mulpatra

राणा शासनकालमा नेपालमा सत्ता सीमित परिवारभित्र केन्द्रित थियो। जनताका आधारभूत अधिकार, अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक सहभागिता र न्यायमा पहुँच लगभग निषेधजस्तै थियो। शिक्षा, स्वास्थ्य, सञ्चार र प्रशासन सबै राणा शासकको नियन्त्रणमा थिए। यस्तो दमनकारी अवस्थाविरुद्ध नेपाली कांग्रेस, प्रजा परिषद्, विद्यार्थी, बुद्धिजीवी र सर्वसाधारण जनता एकजुट भई आन्दोलनमा उत्रिए।

भारतमा स्वतन्त्रता प्राप्तिपछि त्यहाँको राजनीतिक परिवर्तनको प्रभाव नेपालमा पनि पर्यो। जनचेतना बढ्दै गयो र २००७ सालको क्रान्तिले राजा त्रिभुवनको समर्थनसहित राणा शासनको अन्त्य गर्‍यो। यसले नेपालको इतिहासमा पहिलो पटक “सत्ता जनतामा निहित हुन्छ” भन्ने अवधारणालाई व्यवहारमा ल्यायो। यद्यपि त्यसपछिका वर्षहरू राजनीतिक अस्थिरता, सत्ता संघर्ष र लोकतान्त्रिक अभ्यासको अपरिपक्वताले भरिएका रहे।

२००७ सालको क्रान्तिले रोपेको बीउले क्रमशः २०४६ सालको बहुदलीय प्रजातन्त्र, २०६२र६३ को जनआन्दोलन र अन्ततः सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गर्‍यो। आज नेपालमा संविधानसभाबाट बनेको संविधान लागू छ, जसले मौलिक हक, समावेशिता, संघीयता र लोकतान्त्रिक मूल्यलाई संस्थागत गरेको छ।

Image Source: © https://mulpatra.com

प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन्।

प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना पनि गरेका छन्। सन्देशमा सहिदहरूको बलिदानले स्थापित नागरिक अधिकार, मानवअधिकार र जनसत्ता स्थायी बनाउनु आजको दायित्व भएको उल्लेख गरेका छन्।

वि.सं. २००७ सालको प्रजातन्त्रले नेपाली जनतालाई शासनको केन्द्रमा ल्यायो। आज ७५ वर्षपछि उभिँदा, हामीसँग संविधान, अधिकार र संस्थाहरू छन् तर ती संस्थालाई जनताको जीवनसँग जोड्ने जिम्मेवारी अझै अधुरो छ। सहिदहरूको सपना केवल शासन परिवर्तन होइन, सुशासन, न्याय र समृद्धि थियो। त्यसैले प्रजातन्त्र दिवसको साँचो सम्मान भनेको लोकतान्त्रिक मूल्यलाई व्यवहारमा उतार्दै जनताको भरोसा जित्नु हो।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com