रुखमा बाँधेर बाटो बनाउन लगाउने बालेनको अभिव्यक्ति प्रति सार्वजनिक माफि माग्न महासंघको माग

रुखमा बाँधेर बाटो बनाउन लगाउने बालेनको अभिव्यक्ति प्रति सार्वजनिक माफि माग्न महासंघको माग
  • ११ फाल्गुन २०८२, सोमबार १५:५५

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा बालेन शाह द्वारा व्यक्त ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ। महासंघले उक्त अभिव्यक्ति निर्माण व्यवसायीहरूलाई लक्षित गर्दै दिइएको अमर्यादित र उत्तेजक टिप्पणी भएको ठहर गरेको छ।

mulpatra

फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि—बाटो बन्नु पर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए। महासंघले यस्तो अभिव्यक्ति निर्वाचन आचारसंहिताको भावना विपरीत र सस्तो लोकप्रियताका लागि दिइएको आरोप लगाएको छ। देशभर करिब ३० हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध रहेको संगठनमाथि यस प्रकारको टिप्पणी आउनु दुःखद भएको महासंघको भनाइ छ।

महासंघका अनुसार निर्माण कार्यमा ढिलाइ हुनुका प्रमुख कारण ऐन–कानुनको जटिलता, स्रोत सुनिश्चितताको अभाव, न्यून बजेट विनियोजन, त्रुटिपूर्ण डिजाइन तथा नीतिगत अस्थिरता हुन्। वि.सं. २०७३/७४ पछि करिब १९ खर्ब रुपैयाँ बराबरका एक लाख हाराहारी आयोजना स्वीकृत भए पनि स्रोत अभावका कारण ३० हजारभन्दा बढी आयोजना अलपत्र रहेको दाबी गरिएको छ। साथै, मेलम्ची खानेपानी आयोजना, नागढुंगा सुरुङ मार्ग र काठमाडौं–तराई द्रुतमार्ग जस्ता राष्ट्रिय गौरवका आयोजनासमेत समयमै सम्पन्न हुन नसकेको उदाहरण दिँदै समस्या संरचनागत रहेको उल्लेख गरिएको छ।

mulpatra mulpatra mulpatra

महासंघले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ संशोधन, अत्यधिक घटी कबुल प्रथा नियन्त्रण, मासिक भुक्तानी सुनिश्चितता लगायतका नौ बुँदे माग अघि सार्दै निर्वाचन आयोग नेपाल लाई पनि यस विषयमा ध्यान दिन आग्रह गरेको छ। निर्माण उद्योग कृषिपछि सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएको दाबी गर्दै महासंघले जिम्मेवार राजनीतिक नेतृत्वबाट सार्वजनिक आत्मालोचना र माफी आउनुपर्ने माग दोहोर्‍याएको छ।