स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी राख्नः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। निर्वाचनका दिन मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदाताका लागि आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन आयोगले व्यवस्था मिलाउन आग्रह गरेको हो।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आवश्यक स्वास्थ्य सहायता मतदानस्थलमै उपलब्ध हुने गरी समन्वय गरिएको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको छ।
देशभर चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न निर्देशन दिइएको आयोगले जनाएको छ।
आयोगले स्थानीय तहमार्फत आवश्यक सहयोग सुनिश्चित गर्न आग्रह पनि गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालासँग निरन्तर सहकार्य भइरहेको आयोगको भनाइ छ। मतदाताको सहभागिता बढाउन मतदानको दिनअघि र पछाडि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णय भइसकेको छ।
उक्त निर्णय नेपाल सरकारबाट कार्यान्वयन भइसकेको आयोगले जनाएको छ।
![]() |
![]() |
![]() |
|---|
मतदान प्रक्रिया सहज बनाउन शिक्षण संस्था, स्वास्थ्यचौकी र वडा कार्यालय प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ।
यी संरचना फागुन १९ देखि २१ गतेसम्म प्रयोग गर्न समन्वय गरिएको हो। यस सम्बन्धमा गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा पत्राचार भइसकेको छ। आयोगले संघ, प्रदेश र स्थानीय सरकार तथा सबै सरोकारवालालाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ।



