प्रधानमन्त्रीको ग्रे लिष्टमा परेकी स्वास्थ्य मन्त्री भन्छिन्ः जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध छ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कार्यसम्पादन मूल्यांकनका आधारमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका बेला पद जोखिममा रहेको चर्चा भइरहेकी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनस्वास्थ्य सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले खाद्यजन्य रोग नेपालसहित विश्वका लागि गम्भीर जनस्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक सुधारका कार्यक्रम अघि बढाइरहेको बताइन्।
उनले सुरक्षित र गुणस्तरीय खानपान सुनिश्चित गरेर जनस्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यका साथ सरकार सक्रिय रहेको जनाइन्। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै खाद्य परीक्षण प्रयोगशालाको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन तथा नीतिगत सुधारका कामलाई तीव्रता दिइने बताइन्।
![]() |
![]() |
![]() |
|---|
मन्त्री मेहताले खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मका सबै चरणमा स्वच्छता कायम गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै असल कृषि अभ्यास, असल उत्पादन अभ्यास तथा उचित भण्डारण प्रणाली अपनाउनुपर्नेमा जोड दिइन्। यस्ता अभ्यासले गुणस्तरीय खाद्य सामग्रीको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थकर खानपानबाट हुने स्वास्थ्य तथा आर्थिक क्षति कम गर्न सहयोग पुग्ने उनको भनाइ छ।
यसैबीच, आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटघाटमा मन्त्री मेहताले सरकारको ‘शासकीय सुधारका सय कार्यसूची’ कार्यान्वयनमा आफ्नो मन्त्रालय केन्द्रित रहेको बताइन्। प्रधानमन्त्री शाहबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले अधिकांश समय उक्त कार्यसूची पूरा गर्न केन्द्रित भएर काम गरिरहेको उनको दाबी थियो।
उनले अब मन्त्रालयका गतिविधिबारे नियमित रूपमा जानकारी दिन कम्तीमा प्रत्येक १५ दिनमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिने पनि बताइन्।
Image Source: © https://mulpatra.com
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारभित्र मन्त्री हेरफेरको चर्चा चलिरहेका बेला स्वास्थ्यमन्त्री मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवको पद जोखिममा रहेको बताइन्छ। चैत १३ गते मन्त्री नियुक्त भएकी मेहताले भने आफ्नो मन्त्रालय जनस्वास्थ्य सुधार, खाद्य स्वच्छता र शासकीय सुधारका लक्ष्य पूरा गर्न केन्द्रित रहेको बताउँदै आएकी छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर करिब ६० करोड मानिस दूषित खाद्य पदार्थका कारण बिरामी पर्ने र झण्डै चार लाख २० हजार मानिसको मृत्यु हुने गरेको छ। यही सन्दर्भमा यस वर्ष “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



