Close

Recent Posts

अमेरिकाले इरानमाथि आक्रमण गरेको सय दिन उपलब्धीविहिन

अमेरिकाले इरानमाथि आक्रमण गरेको सय दिन उपलब्धीविहिन
  • २४ जेष्ठ २०८३, आईतवार २०:४८

काठमाडौं– इरानको आकाशमा अमेरिकी र इजरायली लडाकु विमानले बम बर्साउन थालेको आज ठीक १०० दिन पुग्यो, तर ह्वाइट हाउसले सोचेजस्तो न त इरान घुँडा टेक्न तयार छ, न त अमेरिकी जनता नै यो युद्धको पक्षमा छन् ।

mulpatra

मध्यपूर्वलाई रक्तपातपूर्ण युद्धमा धकेल्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदम अन्ततः उनकै लागि प्रत्युत्पादक बन्दै गएको छ, जसले गर्दा ट्रम्प र उनको रिपब्लिकन पार्टी अहिले इतिहासकै सबैभन्दा ठूलो राजनीतिक ‘राप र ताप’ मा परेका छन्।

एकताका युद्ध र अर्कातर्फ युद्धविरामको नाटक चलिरहँदा पनि यो सैन्य टकराव अमेरिकी नागरिकहरू माझ तीव्र रूपमा अलोकप्रिय बनेको छ। जनमत ट्रम्पको विपक्षमा यसरी उभिएको छ कि अहिले यो युद्ध अमेरिकी सरकारका लागि निल्नु न ओकल्नुको भारी बनेको छ।

mulpatra mulpatra mulpatra

युद्ध सुरु हुनुअघि गरिएका जनमत सर्वेक्षणहरूले नै अधिकांश अमेरिकी नागरिकहरू इरानमाथि बमबारी गर्ने पक्षमा नरहेको देखाएका थिए। युद्ध सुरु भएपछि पनि जनमतमा कुनै सुधार आएन। धेरैजसो अमेरिकी मतदाताहरूले यस युद्धलाई अनावश्यक र देशको हितविपरीतका रूपमा लिएका छन्।

युनिभर्सिटी अफ म्यारिल्यान्डका ‘पीस एण्ड डेभलपमेन्ट’ प्राध्यापक शिब्ली तेलहामी, जसले यस युद्धबारे सर्वेक्षणसमेत गरेका छन्। उनका अनुसार इरानसँगको यो युद्धले अमेरिकाको हित गरिरहेको छ भन्ने कुरामा थोरै मात्र अमेरिकीहरू सहमत छन्।

विशेषज्ञहरूका अनुसार युद्धका लागि जनसमर्थनको यो अभावले ट्रम्पलाई आन्तरिक राजनीतिमा कमजोर बनाउन सक्छ। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरू कंग्रेसमा आफ्नो नियन्त्रण फिर्ता लिने दाउमा छन्, जसले ट्रम्पको बाँकी कार्यकालका योजनाहरूलाई असफल बनाइदिन सक्छ।

Image Source: © https://mulpatra.com

भर्खरै सार्वजनिक भएको युनिभर्सिटी अफ म्यारिल्यान्डको एउटा सर्वेक्षण अनुसार मात्र १६ प्रतिशत अमेरिकी मतदाताहरू अमेरिकाले यो युद्ध जितेको वा जित्दै गरेको विश्वास गर्छन्। यसले के देखाउँछ भने राष्ट्रपति ट्रम्पले पटक–पटक ‘विजय’ को दाबी गरे पनि अमेरिकी जनता त्यसबाट सन्तुष्ट छैनन्।

सर्वेक्षणमा सहभागी अधिकांश मतदाता, जसमा ३३ प्रतिशत रिपब्लिकनहरू समेत छन्, यो युद्धले अमेरिकी हितमा सकारात्मक भन्दा बढी नकारात्मक असर पारेको बताउँछन्। यसको विपरीत, केवल १२ प्रतिशत उत्तरदाता (जसमा २५ प्रतिशत रिपब्लिकन समावेश छन्) ले मात्र युद्धको प्रभाव सकारात्मक रहेको मानेका छन्, जुन ट्रम्पका लागि आगामी दिनमा ठूलो संकटको संकेत हो।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमाथि बमबारी सुरु गरेका थिए, जसमा इरानका सर्वोच्च नेता अली खामेनी र कैयौँ उच्च अधिकारीहरूका साथै सयौँ नागरिकको मृत्यु भएको थियो। जवाफमा इरानले इजरायल र यस क्षेत्रभरि मिसाइल तथा ड्रोन आक्रमण ग¥यो। साथै, इरानले ऊर्जा ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ तुरुन्तै बन्द गरिदिएपछि विश्वभर तेल र ग्यासको मूल्य ह्वात्तै बढेको थियो।

गत अप्रिल ६ मा युद्धविरामको सहमति भए पनि खाडी क्षेत्रमा सानातिना भिडन्तहरू जारी छन् र हर्मुजमा इरानी नाकाबन्दी अझै कायम छ। अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा आफ्नै नौसैनिक घेराबन्दी गरेको छ। दुवै पक्ष सम्झौताको नजिक पुगेको ट्रम्पले दाबी गरे पनि ‘न युद्ध, न शान्ति’ को यो अवस्था अन्त्य गर्न अहिलेसम्म कुनै ठूलो कूटनीतिक सफलता मिल्न सकेको छैन।

यता राष्ट्रपति ट्रम्पले भने युद्धको आर्थिक असरलाई वास्ता गरेका छैनन् । तर, तेलहामीका अनुसार ट्रम्पले जानाजानी आफूलाई तटस्थ देखाउन खोजिरहेका छन् ताकि इरानीहरूले उनी युद्ध अन्त्य गर्न आतुर छन् भन्ने नसोचून्, जसले उनको वार्ता गर्ने स्थितिलाई कमजोर बनाउन सक्छ।

यद्यपि, खाडीको नाकाबन्दीका कारण तेलको मूल्य अकासिँदा यो युद्ध अमेरिकाका लागि आर्थिक विपत्ति बन्न सक्छ, जसले रिपब्लिकन पार्टीको चुनावी सम्भावनालाई गम्भीर धक्का दिनेछ। कंग्रेसका दुवै सदन गुमेमा ट्रम्पमाथि महाभियोगको खतरासमेत आउन सक्छ।

ट्रम्पले विगतमा आफूलाई ‘शान्तिप्रेमी’ राष्ट्रपतिको रूपमा प्रस्तुत गर्दै मध्यपूर्वमा अमेरिकी सैन्य हस्तक्षेपको विरोध गरेका थिए, जसले उनलाई चुनाव जित्न मद्दत गरेको थियो।

तर, अहिले इरानसँगको युद्ध, इजरायलसँगको सम्बन्ध र १.५ ट्रिलियन डलर पुग्न लागेको अमेरिकी सैन्य बजेटका कारण अमेरिकी नागरिकहरू युद्धबाट थाकिसकेका छन् र उनीहरू यसको विपक्षमा उभिएका छन्।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com