काठमाडौंमा पशुपति क्षेत्रबाट सुरु रास्वपाको घण्टी अभियान साँझ घण्टीघरमा समापन हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभियान’ सुरु गरेको छ। शनिबार बिहानै पशुपतिनाथ मन्दिर परिसरबाट आरम्भ भएको यो अभियान साँझ वनस्थली चोकस्थित पार्टीको केन्द्रीय कार्यालय (घण्टीघर)मा पुगेर समापन हुने बताइएको छ।

अभियानको शुभारम्भमा पार्टी सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख तथा वरिष्ठ नेता बालेन्द्र साह (बालेन शाह) सहित काठमाडौँ, ललितपुर र भक्तपुरका उम्मेदवारहरू पशुपति क्षेत्रमा भेला भएका थिए। त्यसपछि उनीहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा परिचालित भएका हुन्।
रास्वपाका अनुसार गौशालाबाट अघि बढेको अभियान जनतासँग प्रत्यक्ष भेटघाट, घरदैलो सम्पर्क र घण्टी चिन्हमार्फत अभिवादनमा केन्द्रित छ। दिनभर उपत्यकाका मुख्य सडक र चोकहरूमा र्यालीसहित कार्यक्रम सञ्चालन गरिएको पार्टीले जनाएको छ।
![]() |
![]() |
![]() |
|---|
अभियान चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरका सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायकसम्म पुग्नेछ । त्यसैगरी जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल, पुल्चोक, कालिमाटी, टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, मैतीदेवी, बानेश्वर क्षेत्र, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी र गोङ्गबु हुँदै अन्ततः वनस्थली चोकमा पुग्ने तालिका तय गरिएको छ।
रास्वपाले यो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद बढाउने, आफ्ना एजेन्डा प्रस्तुत गर्ने र निर्वाचनमा जनसमर्थन सुदृढ बनाउने उद्देश्य लिएको जनाएको छ।



