रास्वपालाई अर्को धक्काः कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापतिले छोडे पार्टी
काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कर्णाली प्रदेशमा थप झट्का लागेको छ। पार्टीकी कर्णाली प्रदेश संस्थापक महामन्त्री चन्द्रकला विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेका छन्।

विक र बस्नेतले रास्वपा त्यागेर नेपाली कांग्रेस प्रवेश गरेका हुन्। उनीहरूलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका थिए। कांग्रेसका अनुसार उनीहरूसँगै रास्वपा छाडेका दर्जनौं नेता–कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस प्रवेशपछि संस्थापक महामन्त्री विकले रास्वपाभित्र बढ्दो अपारदर्शिताले आफूहरू निराश बनेको बताइन्। भ्रष्टाचार अन्त्य र सुशासनको नारा लिएर गठन भएको पार्टी नै आन्तरिक रूपमा पारदर्शी हुन नसकेको उनको आरोप छ।
![]() |
![]() |
![]() |
|---|
‘पार्टीका तर्फबाट आगामी निर्वाचनमा उम्मेदवार हुन अर्ली इलेक्सनमा उठाइएको ५० हजार र प्रत्यक्ष निर्वाचनमा लिइएको २५ हजार रुपैयाँको लेखाजोखा न प्रदेशले दिन सकेको छ, न जिल्लाले नै। यसको रहस्य अझै बुझ्न सकिएको छैन,’ विकको भनाइ उद्धृत गर्दै कांग्रेसले जनाएको छ।
कार्यवाहक सभापति बस्नेतले पनि देशमा राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्यमान्यता र विकासको एजेन्डा अघि बढाउन रास्वपा असक्षम देखिएको दाबी गरे। उनले बेलैमा सचेत हुनुपर्ने भन्दै समर्थकहरूलाई पनि स्पष्ट राजनीतिक धार रोज्न आग्रह गरेका छन्।



