खाडीका देशमा तनावः सरकारको ४ महत्वपूर्ण निर्णय
काठमाडौं– खाडी मुलुकहरूमा विकसित पछिल्लो सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै सरकारले महत्वपूर्ण निर्णयहरू लिएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको हो। परिस्थिति थप जटिल भए तत्कालै त्यसबारे निर्णय लिन संयन्त्रहरू बनाइएका छन् ।
परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले सूचना र सतर्कता सन्देश सार्वजनिक गरिसकेको बताए। ‘मन्त्रालयले विभिन्न देशहरूले जारी गरिरहेका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ’, पत्रकार भेटघाटमा उनले भने।
![]() |
![]() |
![]() |
|---|
यी हुन् आइतबार सरकारले चालेका ४ कदमहरूः
(१) बहु–सरोकारवाला आपतकालीन उद्धार टोलीको गठनः परराष्ट्र सचिवको संयोजकत्वमा ’मल्टि–स्टेकहोल्डर इमर्जेन्सी रेस्क्यु टिम’ गठनको प्रक्रिया सुरु गरिएको छ। यस टोलीमा सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय र अन्य सरोकारवाला संस्थाहरू रहनेछन्।
(२) डिजिटल निगरानी र सूचना संयन्त्रको स्थापनाः संकट व्यवस्थापनका लागि खाडी क्षेत्रका देशहरूमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरू सम्मिलित एक ’ह्वाट्सएप ग्रुप’ बनाइएको छ। यसले प्रत्येक देशको ताजा सुरक्षा अवस्था र नेपालीले भोगिरहेका समस्याबारे तत्काल जानकारी आदान–प्रदान गर्न सहयोग पुग्नेछ।
Image Source: © https://mulpatra.com
(३) अनलाइन रजिस्ट्रेसन र मोबाइल एप विकासः सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागलाई अनलाइन रजिस्ट्रेसन प्लेटफर्म र मोबाइल एप विकास गर्न निर्देशन दिइएको छ। यसबाट नेपाली नागरिकले आफ्नो विवरण दर्ता गर्न सक्नेछन्, जसले संकटको समयमा उनीहरूको अवस्था पत्ता लगाउन सजिलो हुनेछ।
(४) हटलाइन र ट्राभल एडभाइजरीको व्यवस्थाः प्रभावित क्षेत्रका लागि आधिकारिक ’ट्राभल एडभाइजरी’ जारी गरिएको छ। साथै, नागरिकका समस्या सुन्न र सहायता प्रदान गर्न २४ सै घण्टा सञ्चालन हुने ’कन्सुलर रेस्पोन्स हटलाइन’ को व्यवस्था गर्ने तयारी अघि बढाइएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



