कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे चासो

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे चासो
  • २१ फाल्गुन २०८२, बिहीबार १६:५८

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेकी छन् ।

mulpatra

प्रधानमन्त्री कार्कीले आज दिउँसो कतारका समकक्षी अल थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिन् ।

mulpatra mulpatra mulpatra

उनले भनिन्, ‘हाल करिब ३,६०,००० नेपाली नागरिकहरू कतार राज्यमा बसोबास गर्दै काम गरिरहेका छन्। उनीहरू सुरक्षित छन् र राम्रोसँग हेरचाह गरिएको छ भन्ने कुरा सुन्दा मलाई अत्यन्त खुसी लागेको छ। हाम्रो जनताको हेरचाह गर्नुभएकोमा हामी तपाईं तथा तपाईंको सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।’

प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालको धारणा रहेको बताइन्।

उनले नेपालले सबै राष्ट्रले संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धिहरु र मानवीय कानुनको उचित सम्मान र पालना गर्नुपर्ने कुरामा जोड दिइएको बताइन्।

Image Source: © https://mulpatra.com

कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताउँदै प्रधानमन्त्री कार्कीले वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने बताइन्।

उनले दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत थप प्रकाढ हुने विश्वास पनि व्यक्त गरिन्।

टेलिफोन संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारको परिस्थितिप्रति ऐक्यबद्धता व्यक्त गर्दै कतारको सार्वभौम भूमिमा खासगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गरिन्। साथै उनले कतारले रचनात्मक भूमिकासहित वर्तमान परिस्थितिको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरिन्।

कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री अल थानीले नेपाल र कतारबीचको सुमधुर, प्रगाढ र मित्रवत् सम्बन्धको उच्च प्रशंसा गरे।

उनले कतारमा रहेका नेपाली नागरिकहरुले ठूलो योगदान गरेको चर्चा गर्दै उनीहरुलाई सरकारले वर्तमान परिस्थितिमा कतारीनागरिकसरह सुरक्षा र संरक्षण दिने बताए।

उनले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नो मुलुकले सार्वभौमिकता र भूमिको सुरक्षाका लागि वा आत्मसुरक्षाका लागि मात्र प्रयास गरिरहेको जानकारी दिए। कतार सधैँ शान्तिको च्याम्पियन रहेकोले यस किसिमका क्रियाकलापको विरोधी रहेको बताए।

यस कठिन घडीमा नेपालले प्रदर्शन गरेको मित्रता र ऐक्यबद्धताको लागि उनले धन्यवाद पनि दिइन्।

यो परिस्थिति चाँडै अन्त्य हुने अपेक्षा गर्दै उनले पूर्ववत् रुपमा दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ र विस्तारित बनाउन लाग्नुपर्नेमा जोड पनि दिए।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com