के अमेरिका इरानको खार्ग टापु कब्जा गर्ने सोचाइमा छ ?
काठमाडौं । अमेरिका, इजरायल र इरानबीच जारी तनावका बीच स्टेट अफ हर्मुज (जलडमरू) नजिक रहेको खार्ग टापु को चर्चा बढेको छ। खार्ग टापु नै इरानको तेल आम्दानीको सबैभन्दा ठूलो केन्द्र मानिन्छ। इरानको अधिकांश तेल निर्यात यहीँबाट हुने गरेको छ ।

इरानका ठूला तेल क्षेत्र अहवाज, मरून र गचसरान बाट पाइपलाइन सिधै खार्ग टापुसम्म जोडिएका छन्। यहाँ तेल भण्डारण गरेर ट्यांकर जहाजमार्फत विभिन्न देशमा पठाइन्छ।
टापुमा करिब २० करोड बेरल तेल भण्डारण गर्ने क्षमता छ। अहिले यहाँ करिब ३.५ करोड बेरल तेल स्टकमा रहेको अनुमान गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
केही अन्तर्राष्ट्रिय मिडियाका अनुसार डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले यो टापु कब्जा गर्ने सम्भावित सैन्य विकल्पबारे विचार गरिरहेको जनाएको छ ।
इरानले निर्यात गर्ने कच्चा तेलको करिब ९०–९५ प्रतिशत भाग खार्ग टापुबाट नै बाहिरिन्छ। यहाँ ठूला तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्यांकी र जहाजमा तेल भर्ने पूर्वाधार छन्।
यो टापुबाट दिनमा करिब ८० लाख बेरलसम्म तेल जहाजमा लोड गर्न सकिने क्षमता रहेको बताइन्छ।
१९७० को दशकमा विदेशी लगानीपछि यो स्थानलाई ठूलो तेल निर्यात केन्द्रका रूपमा विकास गरिएको थियो। त्यसयता खार्ग टापु इरानको तेल आपूर्ति प्रणालीको मेरुदण्ड बनेको छ।
Image Source: © https://mulpatra.com
सोही महत्वलाई बुझेर नै अमेरिकाले इरानका अत्यन्त संवेदनशील ऊर्जा केन्द्रहरूमा हमला नगर्न इजरायललाई भनेको केही समाचार संस्थाले उल्लेख गरेका थिए । त्यही कारण पनि अमेरिका र इजरायलले इरानका केही सैन्य अड्डा र आणविक संरचनामा आक्रमण गरे पनि खार्ग टापुमा अहिलेसम्म हमला नगरेको हुन सक्छ ।
विभिन्न तथ्यांकले युद्ध जारी रहे पनि इरानले यहीँबाट निरन्तर तेल निर्यात गरिरहेको देखाएको छ। यदि खार्ग टापुजस्ता महत्वपूर्ण स्थानमा हमला भयो भने इरानले ठूलो स्तरमा प्रतिउत्तर दिन सक्छ, जसले विश्वव्यापी युद्धको अवस्था निम्त्याउन सक्छ।
फारसको खाडीमा इरानी तटबाट करिब २५–३० किलोमिटर टाढा रहेको खार्ग टापुबाट इरानले जहाजहरूको आफ्नो लोकेशन देखाउने ट्र्याकिङ उपकरण बन्द ‘डार्क फ्लीट’ गरि तेल निर्यात गरिरहेको हुनसक्ने अनुमान गरिएको छ ।
विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने यो समुद्री मार्गमा हमला हुँदा वा जहाज आवतजावत रोकिने अवस्था आएमा विश्वव्यापी तेल आपूर्ति प्रभावित हुन सक्छ र मूल्य तीव्र रूपमा बढ्न सक्छ।
हाल इरानले करिब ३३ लाख बेरल कच्चा तेल प्रतिदिन उत्पादन गर्छ। यस देखि बाहेक पनि करिब ४ लाख बेरल कन्डेन्सेट र अन्य तरल इन्धन पनि उत्पादन हुन्छ।
तेल बिक्रीबाट आउने पैसा नै इरान सरकार र उसको सैन्य शक्तिको मुख्य आर्थिक आधार भएकाले अमेरिकाले यदि खार्ग टापुको तेल टर्मिनल नष्ट गरियो वा कब्जा गरियो भने इरानको प्रमुख आय स्रोत बन्द हुन सक्छ भन्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेको बताइन्छ।
रणनीतिक रूपमा महत्वपूर्ण रहँदै खार्ग टापु पहिलेदेखि नै अमेरिकाको आँखामा रहेको बताइन्छ । तर सन् १९८० मा अमेरिका इरान युछका बेला पनि खार्ग टापुलाई निशाना बनाइएको थिएन।
इरान–इराक युद्धका बेला भने इराकी हमलाबाट यहाँका तेल टर्मिनललाई ठूलो क्षति पुगेको थियो, जसलाई पछि इरानले पुनर्निर्माण गरेको थियो।
विश्वको तेल निर्यातमा महत्वपूर्ण रहेको खार्ग टापुमा हमला भए विश्व तेल बजारमा ठूलो संकट आउन सक्छ।
तेलको मूल्य आकासिन सक्छ, जहाज आवतजावत प्रभावित हुन सक्छ र मध्यपूर्वमा युद्ध थप फैलिने जोखिम बढ्न सक्छ।
त्यसैले हालसम्म अमेरिका र उसका सहयोगी देशहरूले इरानको सैन्य तथा आणविक क्षमतामा दबाब दिने रणनीति अपनाएको देखिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



