आजदेखि निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने
काठमाडौं । खाना पकाउने एलपी ग्यासको बजारमा देखिएको अभावलाई व्यवस्थापन गर्न नेपाल आयल निगमले आजदेखि आधा सिलिन्डर ग्यास मात्रै बिक्री वितरण गर्ने निर्णय गरेको छ।

निगमका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास खरिद गर्न पाउनेछन्। उक्त आधा सिलिन्डर ग्यासको मूल्य पनि आधा नै तोकिएको छ, जसअनुसार प्रति सिलिन्डर ९ सय ५५ रुपैयाँमा बिक्री गरिनेछ।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव चर्को रूपमा देखिएको छ। उपभोक्ताले ग्यास लिन जाँदा ‘ग्यास छैन’ भन्ने जवाफ पाउनु, लामो लाइन बस्नुपर्ने अवस्था आउनु र कतिपय स्थानमा कालोबजारी हुने गुनासो बढ्दै गएको छ।
![]() |
![]() |
![]() |
|---|
निगमले मध्यपूर्व क्षेत्रमा भइरहेको तनावका कारण उपभोक्तामा त्रास फैलिएको र त्यसका कारण आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको जनाएको छ। यही अवस्थालाई नियन्त्रण गर्न र सबै घरधुरीलाई ग्यास उपलब्ध गराउने उद्देश्यले आधा सिलिन्डर बिक्री गर्ने निर्णय गरिएको निगमले जनाएको छ।
निगमका अनुसार भारतबाट मागअनुसार नै ग्यास आयात भइरहेको भए पनि बजारमा कृत्रिम अभाव सिर्जना भएको र केही डिलरहरूले अनावश्यक भण्डारण तथा कालोबजारी गरिरहेको आशंका गरिएको छ।
सरकारले कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिँदै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र सम्भव भएसम्म विद्युतीय चुल्होजस्ता वैकल्पिक ऊर्जा प्रयोग बढाउन पनि आग्रह गरेको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



