आज इद उल फित्र मनाउँदै मुस्लिम समुदाय
काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्र आज मनाइँदै छ । इद उल फित्रमा एक महिनासम्मको पवित्र रोजा (व्रत) सम्पन्न गरेपछि मुस्लिम समुदायले विशेष नमाज अदा गरी एकअर्कामा शुभकामना आदानप्रदान गर्दछन्।

अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनाको अन्त्यमा चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने परम्परा रहिआएको छ। यस अवसरमा काठमाडौँस्थित जामे मस्जिद घन्टाघर, काश्मी मस्जिद तथा देशभरका मस्जिद र इदगाहहरूमा बिहानैदेखि विशेष नमाजको आयोजना गरिएको छ। नमाजपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई माया तथा आशीर्वाद दिने चलनअनुसार परिवार तथा आफन्तबीच भेटघाट गर्ने प्रचलन छ।
यस पर्वको मुख्य विशेषता दान तथा सहयोग पनि हो। इस्लाम धर्मअनुसार प्रत्येक सक्षम व्यक्तिले आफ्नो वार्षिक आम्दानीको करिब साढे दुई प्रतिशत ‘जकात’का रूपमा दान गर्नुपर्ने व्यवस्था छ। साथै, ‘सदकातुल फित्र’ (सत्कार फितर) का रूपमा गहुँ वा सो बराबरको नगद दान गरी गरिब तथा दीनदुःखीलाई सहयोग गर्ने परम्परा रहेको छ। यस प्रकारका दानहरूले सामाजिक समानता र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ।
![]() |
![]() |
![]() |
|---|
इदको अवसरमा सेवई, खजुरलगायतका परिकार तयार गरी आफन्त तथा पाहुनालाई सत्कार गर्ने प्रचलन रहेको छ। यस दिन नयाँ लुगा लगाउने, साथीभाइसँग भेटघाट गर्ने र शुभकामना साटासाट गर्ने वातावरणले मुस्लिम समुदायमा विशेष उत्साह थपिएको देखिन्छ।
एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म निराहार रही आत्मसंयम र आध्यात्मिक शुद्धताको अभ्यास गरिएको रोजा आज इदसँगै सम्पन्न भएको छ। यस अवधिमा गरिएका उपवासले आत्मअनुशासन, सहनशीलता र परोपकारको भावना विकास हुने धार्मिक विश्वास रहेको छ।



