झापाबाट सुरु भयो कम्युनिष्ट पार्टी एकता गर्ने माग

झापाबाट सुरु भयो कम्युनिष्ट पार्टी एकता गर्ने माग
  • १० चैत्र २०८२, मंगलवार १०:४४

काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी शक्तिहरूले बेहोरेको अप्रत्याशित र लज्जास्पद पराजयपछि झापाबाट कम्युनिष्ट पार्टी एकताको नयाँ बहस सुरु भएको छ । विभिन्न दलमा आवद्ध वामपन्थी नेताहरूले संयुक्त रूपमा अपिल जारी गर्दै वर्तमान अवस्थालाई ‘इतिहासकै गम्भीर मोड’ को संज्ञा दिएका छन् र तत्काल एकता, आत्मसमीक्षा तथा पुनर्गठनको पहल गर्न आग्रह गरेका छन् ।

mulpatra

झापामा आयोजित छलफलपछि जारी अपिलमा वाम आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको, जनविश्वास घट्दै गएको र समाजवादप्रति नै शंका उत्पन्न हुन थालेको उल्लेख गरिएको छ । नेताहरूले यो अवस्था सामान्य राजनीतिक उतारचढाव नभई गहिरो संकटको संकेत भएको बताएका छन् ।

संयुक्त अपिलमा पराजयको मुख्य कारण बाह्य शक्ति मात्र नभई आन्तरिक कमजोरी रहेको स्पष्ट पारिएको छ । “विदेशी चलखेल सधैं रहन्छ, तर त्यसलाई बहाना बनाएर नेतृत्वले आफ्ना कमजोरी ढाकछोप गर्नु स्वीकार्य हुँदैन,” अपिलमा भनिएको छ ।

mulpatra mulpatra mulpatra

नेताहरूले लामो समयदेखि पार्टीभित्र बढ्दो गुटबन्दी, विधान उल्लङ्घन, सत्ताकेन्द्रित राजनीति र जनतासँगको दूरीलाई मुख्य समस्या औँल्याएका छन् । नेतृत्वमा टिकिरहनुपर्ने प्रवृत्ति, जसरी पनि सत्ता समातिरहन खोज्ने मानसिकता र सिद्धान्तविहीन गठबन्धनको अभ्यासले वाम आन्दोलनको विश्वसनीयता कमजोर बनाएको उनीहरूको निष्कर्ष छ ।

अपिलमा जनताको नजरमा कम्युनिष्ट र गैरकम्युनिष्ट दलबीचको भिन्नता हराउँदै जानु पनि गम्भीर चिन्ताको विषय बनेको उल्लेख छ । नेताहरूका अनुसार विचार र व्यवहारबीचको दूरी बढ्दै जाँदा मतदाताले विकल्प खोज्न थालेका छन्, जसको प्रत्यक्ष असर पछिल्लो निर्वाचन परिणाममा देखिएको छ ।

०४६ सालको जनआन्दोलन, ०६२/६३ को परिवर्तन र २०७२ सालको संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धिमा वाम शक्तिहरूको निर्णायक भूमिका रहेको स्मरण गर्दै नेताहरूले २०७४ सालमा भएको एमाले–माओवादी केन्द्रको एकताले वाम आन्दोलनलाई शिखरमा पुर्‍याएको तर त्यसपछिको विघटनले जनतामा वितृष्णा बढाएको बताएका छन् ।

Image Source: © https://mulpatra.com

अपिलमा अबको बाटो ‘विघटन होइन, शुद्धिकरणसहितको एकीकरण’ भएको उल्लेख गर्दै नेतृत्वको पुस्तान्तरण, रुपान्तरण र नयाँ ढंगबाट वाम एकता निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

संयुक्त अपिल जारी गर्नेहरुमा २०२८ सालको झापा आन्दोलनका अगुवा नरेश खरेल सहित एमाले पूर्व केन्द्रीय सदस्य रविन कोइराला र गणेश पोखरेल लगायत छन् ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका झलकसिंह दर्लामी, पुष्प पोखेल, ज्योतिसिंह दर्लामी, रन्जित तामाङ, नेकपा संयुक्तका नीलमणि बराल, नेकपा (माओवादी) का अर्जुन पाण्डे, प्रगतिशील लोकतान्त्रिक पार्टीकी लक्ष्मीदेवी न्यौपाने सरुले जारी गरेको अपिलमा संसदीय निर्वाचनमा यसस्तरमा भएको पराजयले आन्दोलनको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरेको उल्लेख छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com