पार्टीभित्र गुटबन्दी भएको मनिष झाको आरोप

पार्टीभित्र गुटबन्दी भएको मनिष झाको आरोप
  • १२ असार २०८३, शुक्रबार १८:०८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनअघि नै पार्टीभित्र संस्थापन पक्ष र वैकल्पिक समूहबीच ध्रुवीकरण देखिएको आरोप उठेको छ। महामन्त्रीका उम्मेदवार मनिष झाले संस्थापक नेताहरूको पक्षमा उम्मेदवारी फिर्ता गराएर एकल उम्मेदवार घोषणा गरिएको घटनालाई पार्टीले विगतदेखि उठाउँदै आएको गुटरहित राजनीतिक अभ्यासको विपरीत भएको बताएका छन्।

mulpatra

निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिएर विपीन आचार्यलाई समर्थन गरेपछि झाले यसलाई संस्थापन पक्षको संगठित शक्ति प्रदर्शनको रूपमा व्याख्या गरेका छन्।

झाले महाधिवेशन उद्घाटनका क्रममा सभापति रवि लामिछानेले समूहगत प्रचार नगर्न दिएको सार्वजनिक सन्देश व्यवहारमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरेका छन्। आफूले छ दिनअघि नै स्पष्ट रूपमा उम्मेदवारी घोषणा गरी अन्तिमसम्म प्रतिस्पर्धा गर्ने अडान लिएको उल्लेख गर्दै उनले केही नेताले केही घण्टाका लागि मात्र उम्मेदवारी घोषणा गरेर फिर्ता लिनु पूर्वनियोजित रणनीति जस्तो देखिएको आरोप लगाए।

mulpatra mulpatra mulpatra

उनले महामन्त्री पद पार्टीको आन्तरिक संगठन सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवारी भएकाले प्रतिस्पर्धा स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै समूहगत समर्थनको अभ्यासले आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।

रास्वपाले स्थापना कालदेखि पुराना दलहरूको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको थियो। तर पहिलो महाधिवेशनमै पदाधिकारी चयनअघि देखिएको ध्रुवीकरणले पार्टीभित्र पनि संगठित शक्ति केन्द्रहरू विकास हुन थालेको संकेत गरेको विश्लेषण भइरहेको छ।

मनिष झाले समूहगत रूपमा उम्मेदवार घोषणा र समर्थन गर्ने नेतामाथि पार्टी विधानअनुसार कारबाही गर्न सभापति रवि लामिछानेसँग माग गरेका छन्। महाधिवेशनमा देखिएको यो विवादले रास्वपाको आन्तरिक लोकतन्त्र, नेतृत्व चयन प्रक्रिया र ‘नयाँ राजनीतिक संस्कार’ को दाबी व्यवहारमा कति स्थापित छ भन्ने विषयमा नयाँ बहस सुरु गरेको छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com