मध्यपूर्व द्वन्द्वको असर न्यूनीकरण गर्न एडिबीको वित्तीय प्याकेज घोषणा
काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र त्यसको असर न्यूनीकरण गर्न विशेष वित्तीय सहायता प्याकेज घोषणा गरेको छ। बैंकले विकासशील सदस्य राष्ट्रहरूलाई तत्काल देखिएका आर्थिक दबाब व्यवस्थापन गर्न र दीर्घकालीन आर्थिक उत्थानशीलता सुदृढ बनाउन द्रुत तथा लचिलो सहयोग उपलब्ध गराउने जनाएको छ।

एडिबीले प्याकेज अन्तर्गत विशेषगरी अत्यावश्यक वस्तु, खासगरी तेल आयात सुनिश्चित गर्न छिटो निकासा हुने बजेट सहायता प्रदान गर्ने उल्लेख गरेको छ। यसका साथै ‘काउन्टरसाइक्लिकल सपोर्ट फ्यासिलिटी’मार्फत अर्थतन्त्रमा आएको झट्कालाई कम गर्दै जोखिममा रहेका जनसंख्याको संरक्षणमा जोड दिइनेछ। यसले सरकारहरूलाई वित्तीय संकटको बेला अर्थतन्त्र स्थिर राख्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यस्तै, बैंकले व्यापार र आपूर्ति शृंखला वित्तपोषण कार्यक्रममार्फत निजी क्षेत्रलाई ऊर्जा, खाद्यान्न लगायतका महत्वपूर्ण आयात निरन्तरता दिन सहयोग गर्ने भएको छ। विशेष परिस्थितिलाई मध्यनजर गर्दै सीमित अवधिका लागि तेल आयातमा समेत वित्तीय सहयोग पुनः सक्रिय गर्ने निर्णय गरिएको छ, जसले आपूर्ति अवरोध र मूल्यवृद्धिबाट प्रभावित अर्थतन्त्रलाई राहत दिने विश्वास गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
एडिबीका अध्यक्ष मासातो कान्डाले विश्वव्यापी अनिश्चितताबीच एसिया–प्रशान्त क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउँदै बैंकसँग पर्याप्त स्रोतसाधन रहेको बताएका छन्। ऊर्जा मूल्यको अस्थिरता, मुद्रास्फीति र आपूर्ति शृंखला अवरोधका कारण बढ्दो जोखिमलाई ध्यानमा राख्दै एडिबीले सदस्य राष्ट्रहरूलाई समयमै वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै समष्टिगत आर्थिक स्थिरता कायम राख्न भूमिका खेल्ने जनाएको छ।



