देशकै उत्कृष्ट बन्यो सिन्धुपाल्चोकको चौतारा अस्पताल
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको चौतारा अस्पताल न्यूनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिट मूल्यांकनमा देशभरका ५० शैयासम्मका अस्पतालमध्ये उत्कृष्ट बनेको छ। बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको अनुगमनमा अस्पतालले ‘ए’ ग्रेडसहित ९६ प्रतिशत अंक हासिल गर्दै पहिलो स्थान सुरक्षित गरेको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार २६ वटा सूचकका आधारमा गरिएको मूल्यांकनमा अस्पतालले प्रशासनिक व्यवस्थापनतर्फ ९७ प्रतिशत, क्लिनिकल सेवातर्फ ९५ प्रतिशत तथा सहायक सेवा व्यवस्थापनतर्फ ९७ प्रतिशत अंक प्राप्त गरेको छ। यसले अस्पतालको समग्र सेवा गुणस्तर, व्यवस्थापन क्षमता र सेवा प्रवाह प्रभावकारी रहेको पुष्टि गरेको जनाइएको छ।
अनुगमन २०८२ साल चैत ८ र ९ गते सम्पन्न भएको थियो। अनुगमन टोलीका सदस्य तथा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र लामका अनुसार मूल्यांकन प्रक्रियामा अस्पतालको सेवा प्रणाली, उपचारको गुणस्तर र व्यवस्थापकीय दक्षतालाई समेटेर समग्र विश्लेषण गरिएको थियो। समीक्षा क्रममा सुधार गर्नुपर्ने केही पक्षहरू पनि औंल्याइएको छ।
![]() |
![]() |
![]() |
|---|
यसअघि प्रदेशस्तरमा पहिलो र देशभर दोस्रो स्थानमा रहेको चौतारा अस्पतालले यसपटक देशमै अग्रस्थान हासिल गर्दै सेवा गुणस्तरमा निरन्तर सुधार भएको प्रमाणित गरेको छ। अस्पताल व्यवस्थापनले आगामी दिनमा अझ सुधार गर्दै पूर्ण अंक हासिल गर्ने लक्ष्यसहित योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ।



