अर्थको बागडोर चलाउने जिम्मा अर्थ विज्ञ वाग्लेको हातमा, को हुन् वाग्ले ?
काठमाडौं । प्रधानमन्त्री बालेन शाह बनेसँगै आज भएको मन्त्रालय विस्तारमा स्वर्णिम वाग्ले अर्थ मन्त्री बनेका छन् । देशको अर्थतन्त्र सुधार र आर्थिक नीति निर्माणको महत्वपूर्ण जिम्मेवारी अब अर्थशास्त्री तथा राजनीतिज्ञ स्वर्णिम वाग्लेको काँधमा आएको छ। नवनियुक्त अर्थमन्त्रीका रूपमा उनले जिम्मेवारी सम्हालेसँगै देशको आर्थिक सुधार, उनैले उठाउँदै आएको निजी क्षेत्रको सशक्तीकरण र दीगो विकासको मुद्धा कता जान्छ सबैको चासोको विषय बनेको छ ।

तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य वाग्ले हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति हुन्। शैक्षिक र व्यावसायिक रूपमा सशक्त पृष्ठभूमि भएका वाग्लेले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका छन् भने हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। साथै, लन्डन स्कुल अफ इकोनोमिक्समा पनि उनले अध्ययन गरेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा समेत दख्खल राख्ने वाग्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत एशिया–प्रशान्त क्षेत्रका लागि मुख्य आर्थिक सल्लाहकारका रूपमा कार्यरत थिए। त्यस्तै, विश्व बैंक, सर्वांगीण विकास अध्ययन केन्द्र र काठमाडौं विश्वविद्यालयमा आबद्ध भएर उनले नीति निर्माण र अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्।
![]() |
![]() |
![]() |
|---|
नेपाल सरकारअन्तर्गत राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका वाग्ले स्वास्थ्य, शिक्षा र दिगो विकासका नीति निर्माणमा सक्रिय भूमिका खेलेका व्यक्तित्वका रूपमा चिनिन्छन्। २०७२ सालको महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आकलन तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रक्रियामा पनि उनको योगदान उल्लेखनीय छ।
राजनीतिमा प्रवेशअघि नेपाली कांग्रेसमा आबद्ध रहेका वाग्ले पछि राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सक्रिय राजनीतिमा आएका हुन्। उनलाई रास्वपा सभापति रवि लामिछानेले यसअघि नै भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए।
आर्थिक सुधारका विषयमा स्पष्ट धारणा राख्ने वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने, अनुत्पादक खर्च घटाउनुपर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै आएका छन्। उनले विकास समितिहरूको पुनर्संरचना, सार्वजनिक क्षेत्रको सुधार तथा आर्थिक नीतिमा संरचनात्मक परिवर्तन आवश्यक रहेको बताउँदै आएका छन्।
Image Source: © https://mulpatra.com
नेपालको अर्थतन्त्रलाई आगामी पाँचदेखि सात वर्षभित्र तीव्र गतिमा विस्तार गर्दै उच्च स्तरमा पुर्याउने लक्ष्यसमेत उनले अघि सारेका छन्।
अब अर्थतन्त्र संकट, बजेट अनुशासन र विकासको गति जस्ता चुनौतीबीच अर्थ मन्त्रालयको बागडोर सम्हालेका वाग्लेको कार्यकाल कस्तो रहला भन्नेमा सबैको चासो केन्द्रित भएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



