एकै दिनमा श्रम स्वीकृति दिने सरकारको तयारी
काठमाडौं । वैदेशिक रोजगारी प्रक्रियालाई छरितो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित सरकारले श्रम स्वीकृति प्रणालीमा महत्वपूर्ण सुधारको तयारी गरेको छ। अब श्रम स्वीकृतिका लागि टोकन लिनुपर्ने झन्झट अन्त्य गर्दै आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने व्यवस्था लागू गर्ने निर्णय गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले पुरानो टोकन प्रणाली खारेज गर्दै तत्काल सेवा प्रवाह गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। यसअघि सेवाग्राहीले टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति पाउने व्यवस्था हुँदा समय र प्रक्रियागत जटिलता बढ्दै आएको थियो।
नयाँ व्यवस्थाअनुसार श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउँदै सहज पहुँच सुनिश्चित गरिनेछ। पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई पनि अनलाइन प्रणालीमा रूपान्तरण गरिने भएको छ। साथै, तालिमका लागि आवश्यक श्रव्य–दृश्य सामग्री तयार गरी डिजिटल माध्यममार्फत उपलब्ध गराइनेछ।
![]() |
![]() |
![]() |
|---|
सरकारले श्रमिकको अधिकार संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गराउने अभियान सञ्चालन गरिनेछ भने न्यूनतम ज्यालाको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ। श्रमिकका गुनासा सुन्ने ‘श्रमाधान’ कल सेन्टरलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना समेत अघि सारिएको छ।
औद्योगिक प्रतिष्ठानहरूमा जोखिम मूल्याङ्कन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने, आन्तरिक रोजगारी सिर्जना गर्न उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्ने तथा थप पाँच देशसँग श्रम सम्झौता विस्तार गर्ने तयारी पनि सरकारले गरेको छ।
यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, न्यूनतम ज्याला, कार्यस्थलको अवस्था र स्वास्थ्य सुरक्षाको अध्ययन गरी न्यूनतम मापदण्ड तय गर्ने विषयमा पनि छलफल भएको छ। रोजगारी सिर्जनालाई टेवा पुर्याउने गरी सीप विकास तालिम सञ्चालन गरिने र सबै प्रदेशमा निजी क्षेत्रसँग सहकार्य गरी ‘सीप मेला’ आयोजना गर्ने योजना पनि अघि बढाइएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



