२० दिनमा तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य, २५० माथि पुग्ने अनुमान
काठमाडौं– नेपाल आयल निगमले लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्यमा भारि वृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एकैपटक प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको हो। यो नयाँ मूल्यदर चैत २० गते मध्यरातदेखि नै देशभर लागु हुनेछ ।
निगमले तोकेको नयाँ दरअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि यी सहरहरूमा पेट्रोल १८७ रुपैयाँमा बिक्री भइरहेको थियो । त्यसैगरी, यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ कायम भएको छ ।
![]() |
![]() |
![]() |
|---|
मूल्यवृद्धिसँगै पहिलो वर्गमा रहेका तराईका प्रमुख सहरहरू चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा पुगेको छ। यसअघि यहाँ १८४ रुपैयाँ थियो । यस्तै, ती क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा पुगेको छ ।
दोस्रो वर्गमा वर्गीकृत गरिएका सुर्खेत र दाङमा पनि इन्धनको भाउ बढेको छ । अब त्यहाँ पेट्रोल प्रतिलिटर २०१ रुपैयाँ र डिजेल तथा मट्टितेल १८१ रुपैयाँमा खरिद गर्नुपर्नेछ। यसअघि सुर्खेत र दाङमा पेट्रोल १८६ र डिजेल÷मट्टितेल १६६ रुपैयाँमा उपलब्ध थियो ।
यसअघि निगमले गत चैत १ गते मात्रै पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको थियो । त्यसको केही दिनमै अर्थात् चैत १२ गतेदेखि लागू हुने गरी पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा एकमुष्ट १५ रुपैयाँले वृद्धि गरेको थियो ।
युद्ध कायमै रहे पेट्रोलमा प्रति लिटर २ सय ५० माथि पुग्ने निगमकै अनुमान छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



