कम्बोडिया पुगेर अवैधरूपमा अनलाइन ठगीमा परेका ७ नेपालीको उद्धार
काठमाडौं– विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरी नेपाल फर्काइएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत २२ गते कम्बोडियाबाट उडेर २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको दूतावासले जनाएको छ ।
दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो ।
![]() |
![]() |
![]() |
|---|
कतिपय भने भिसाविना नै लुकेर बसिरहेका थिए । दूतावासले यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि फर्काउने पहल निरन्तर भइरहेको जानकारी दिएको छ । कम्बोडियामा अझै पनि धेरै नेपाली नागरिकलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएर पनि बसिरहेको सूचना दूतावासलाई प्राप्त भएको छ ।
पछिल्लो समय भिजिट भिसाको बहानामा कम्बोडिया पुग्ने नेपालीको संख्या अस्वाभाविक रूपमा बढेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०२१ मा जम्मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा यो संख्या हरेक वर्ष आकासिँदै गएको छ ।
सन् २०२२ मा १९७७, सन् २०२३ मा २९४० र सन् २०२४ मा ६४०४ जना नेपाली कम्बोडिया पुगेकोमा सन् २०२५ मा यो संख्या बढेर ९ हजार ६ सय ७६ पुगेको दूतावासले उल्लेख गरेको छ ।
Image Source: © https://mulpatra.com
भिजिट भिसामा गएर मानव तस्करको जालमा पर्ने क्रम बढेपछि दूतावासले चेतावनी जारी गरेको छ । नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले सम्पूर्ण नागरिकलाई सचेत गराएको छ ।
कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा भ्रमणको बहाना बनाएर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड जस्ता देशमा रोजगारीको खोजीमा नआउन राजदूतावासले अपिल गरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



