प्रधानमन्त्री कार्यालयले गर्यो २४ घण्टे गुनासो र बहु–च्यानल व्यवस्थापनका लागि परिपत्र
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा, सुझाव तथा सेवा अनुरोधलाई थप प्रभावकारी रूपमा व्यवस्थापन गर्न २४ घण्टे गुनासो व्यवस्थापन प्रणाली सञ्चालन तथा बहु–च्यानल व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गरेको छ।

हेलो सरकार शाखामार्फत जारी परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार शासकीय सुधारसम्बन्धी कार्यसूची कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, प्रदेश तथा स्थानीय तहलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ। परिपत्रले नागरिकका गुनासालाई छिटो, प्रभावकारी र परिणाममुखी रूपमा सम्बोधन गर्न जोड दिएको छ।
परिपत्रअनुसार अब नागरिकले फोन, मोबाइल एप, वेब पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सक्ने बहु–च्यानल प्रणाली विकास गरी सञ्चालनमा ल्याइनेछ। यसले सेवा प्रवाहलाई सहज, पहुँचयोग्य र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
त्यसैगरी ‘हेलो सरकार’ संयन्त्रलाई नागरिक संवादको प्रभावकारी प्लेटफर्मका रूपमा विकास गर्दै एकीकृत ड्यासबोर्डमार्फत गुनासो समाधानको प्रगति र अवस्थालाई ‘रियल टाइम’ मा अनुगमन गर्ने व्यवस्था मिलाइनेछ।
प्रधानमन्त्री कार्यालयले सम्बन्धित सबै निकायलाई हेलो सरकार पोर्टलमा गुनासो सुन्ने तथा समाधान गर्ने पदाधिकारीको विवरण तत्काल अद्यावधिक गर्न निर्देशन दिएको छ। साथै प्राप्त गुनासाहरूलाई शीघ्र र प्रभावकारी रूपमा सम्बोधन गर्न विशेष ध्यान दिन आग्रह गरिएको छ।
परिपत्रमा सबै तहका सरकारी निकायले गुनासो व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारिएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



