नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने
काठमाडौँ । विश्व बैंक ले चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर अपेक्षाभन्दा घटेर करिब २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण सार्वजनिक गरेको छ।

‘नेपाल डेभलपमेन्ट अपडेट (अप्रिल २०२६)’ मार्फत सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा कृषि उत्पादनमा आएको गिरावट, आपूर्ति शृङ्खलामा अवरोध तथा मध्यपूर्व, विशेषगरी खाडी क्षेत्रमा बढ्दो द्वन्द्वका कारण समग्र अर्थतन्त्र प्रभावित भएको उल्लेख गरिएको छ। अघिल्लो आर्थिक वर्षमा ४।६ प्रतिशत रहेको वृद्धिदरको तुलनामा यो उल्लेखनीय गिरावट हो।
प्रतिवेदनअनुसार सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने देखिएको छ, जहाँ पर्यटन आगमनमा कमी, ढुवानी लागतमा वृद्धि र आपूर्ति प्रणालीमा समस्या देखिएको छ। द्वन्द्व लम्बिँदै गएमा विप्रेषण (रेमिट्यान्स) घट्ने, उपभोग कमजोर हुने र आर्थिक गतिविधि थप सुस्त हुने जोखिम औँल्याइएको छ।
![]() |
![]() |
![]() |
|---|
यस्तै, औद्योगिक नीतिको प्रभावकारी कार्यान्वयनमा सीमितता, सानो बजार आकार र वित्तीय स्रोतको अभावले पनि अपेक्षित परिणाम दिन नसकेको प्रतिवेदनमा उल्लेख छ।
यद्यपि, नयाँ सरकार गठनसँगै नीतिगत सुधार, पूर्वाधार विकास, जलविद्युत् विस्तार र पुनर्निर्माण गतिविधि तीव्र भएमा आगामी वर्षहरूमा अर्थतन्त्र क्रमशः सुधार हुँदै औसत ४.४ प्रतिशतसम्म वृद्धि हुन सक्ने अनुमान गरिएको छ। साथै निजी क्षेत्रको भूमिका विस्तार, लगानीमैत्री वातावरण निर्माण र निर्यात प्रवर्द्धनका लागि लक्षित नीतिहरू आवश्यक रहेकोमा जोड दिइएको छ।



