डेपुटी गभर्नरको दौडमा ४ जना, कसले मार्ला बाजी
काठमाडौं– मन्त्रीपरिषदले मंगलबार राष्ट्र बैंकमा रिक्त दुईमध्ये एक जना डेपुटी गभर्नरको मात्रै पदपूर्ति गरेको छ ।किरण पण्डितले हिजै सपथ ग्रहण गरेर कार्यभार पनि सम्हालेका छन् ।

तर दोस्रो व्यक्ति नियुक्त नहुँदा केही अड्कलबाजीहरु लगाइएका छन् । साथै, नयाँ प्रश्न उब्जिएको छ– अब बन्ने अर्को डेपुटी गभर्नर चाहीँ को होला ?
केन्द्रिय बैंकमा डेपुटी गभर्नर पद रिक्त भएको एक महिनापछि पनि एक जनामात्रै पदपूर्ति हुनुलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । खासगरी यसमा तीनवटा तर्कहरु देखिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
पहिलो– सरकारले एकै पल्ट दुई जना डेपुटी गभर्नरको पदपूर्ति गर्ने व्यवस्थालाई परिमार्जन गरी भिन्न भिन्न समयमा गर्ने प्रबन्ध मिलाउन खोजेका कारण सुरुमा एक जनाको मात्रै नियुक्ति भयो ।
दोस्रो– प्रधानमन्त्री बालेन्द्र शाहको ‘टीम’ले अर्को व्यक्तिका बारेमा स्पष्ट धारणा बनाउन समय लाग्ने देखिएपछि एक जनामात्रै नियुक्त गरिए ।
तेस्रो तर्क चाहीँ व्यावहारिक समस्यालाई सल्टाउने उद्देश्यद्वारा प्रेरित छ । त्यो भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक साधारणसभामा भाग लिन गभर्नर विश्वनाथ पौडेलसहितको टोली आगामी शुक्रबार अमेरिका जाँदै छ ।
Image Source: © https://mulpatra.com
तर गभर्नरले आफ्नो अनुपस्थितिमा कार्यभार हस्तान्तरण गर्ने उच्च व्यवस्थापकीय पदाधिकारी नै भएनन् । जसले गर्दा गभर्नरको पनि अमेरिका भ्रमण स्थगित हुने अवस्था आएपछि सरकारले आकस्मिक बैठक डाकेरै भए पनि एक जना नियुक्त गरेको हो ।
यी कुनै पनि धारणालाई पुष्टि गर्ने गरी अर्थमन्त्रालय वा प्रधानमन्त्री कार्यालयले कुनै स्पष्ट सन्देश दिएको छैन ।
डेपुटी गभर्नरका लागि राष्ट्र बैंकका गभर्नरले ४ जनाको नाम सिफारिस गर्नुपर्ने ऐनको व्यवस्था छ । तर ती सिफारिस भएका ४ जना को हुन् भन्ने सुनिश्चित छैन । अहिले एक जनामात्रै नियुक्त गरिएकाले सरकारले गभर्नरसँग २ जनाको मात्रै नाम मागेको पनि हुन सक्छ । बाँकी दुई जनाको नाम पछि माग्न सक्छ । अहिले गभर्नरले ४ जनाकै नाम सिफरिस गरेको भए पनि भविष्यमा अर्को नियुक्तिका बखत २ जनाको ‘नयाँ नाम’ सिफरिस माग्न पनि सक्ने संभावना कायमै छ ।
त्यसैले अड्कल बाजीहरु धेरै छन् । तर अहिले केही नामहरु आइरहेका छन् । दीर्घ रावल, सत्यन्द्र तिमल्सिना, गुरुप्रसाद पौडेल, डिल्लिराम पोखरेल लगायतको नाम अलि धेरैले लिने गरेका छन् ।
यसमध्ये पोखरेलको संभावना अलि बढी हुनसक्ने राष्ट्र बैंकका केही अधिकारीहरुको बुझाइ छ । यसमा उनीहरुको तर्क छ, दीर्घ पनि योग्य मान्छे हुन् । तर उनी किरण जस्तै सुपरिवेक्षकीय पृष्ठभूमिबाट आएका पात्र हुन् ।
केन्द्रिय बैंकमा दुबै डेपुटी गभर्नर सुपरिवेक्षकीय पृष्ठभूमिबाट ल्याउँदा केही असहता हुनसक्ने भनेर उनीहरुले अर्को पात्र अर्थशास्त्रीहरुमध्येबाट खोज्न सक्ने ठान्छन् । यस मानेमा डिल्लीरामको संभावना बढी देखिएको हो । उनी पनि किरण जस्तै त्रिभुवन विश्वविदालयका ‘गोल्ड मेडलिस्ट’ हुन्, तर अर्थशास्त्र तर्फका । उनले जापानबाट अर्थशास्त्रमा विद्यावारिधी (पीएचडी) गरेका छन् ।
अनुसन्धान विभागमा खासै काम नगरे पनि सत्यन्द्र तिमिल्सिना पनि अर्थशास्त्रकै पृष्ठभूमिबाट आएका हुन् । पूर्व पत्रकारसमेत रहेका तिमिल्सिनाको राजनीतिक जग भने यसअघि ‘एमाले निकट’ नै भनेर चिनिन्थ्यो । तर अचेल उनी प्रधानमन्त्री बालेनको कार्यशैली र उनको टीमप्रति सकारात्मक भाष्य सृजना गर्ने कोसिस गरिरहेको उनका निकटवर्तीहरु बताउँछन् ।
रामशरण खरेल पनि अर्थशास्त्रकै पृष्ठभूमिका हुन् । उनी अहिले आर्थिक अनुसन्धान विभागको नेतृत्व गरिरहेका छन् । उनी पनि ‘गोल्ड मेडलिस्ट’ हुन् र बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । तर खरेललाई अहिलेको सरकारले पदोन्नती गर्न अलि अप्ठेरो मान्नसक्ने जोखिम रहेको ठानिन्छ । उनी पूर्व अर्थमन्त्री युवराज खतिवडाको ज्वाइँ हुन् र यो कुरा उनी उपनिर्देशक हुँदादेखि नै खुबै प्रचारित छ ।
त्यसो त, गभर्नर विश्वनाथ पौडेलले केन्द्रिय बैंकको शक्तिशाली विभागहरु कम्युनिष्ट निकट कार्यकारी निर्देशकलाई दिएको भनेर पनि बीचमा थोरै असन्तुष्टिहरु देखिएका थिए । सरकार परिवर्तनसँगै त्यस्ता असन्तुष्टिहरु सेलाएर गएका छन् । तर नयाँ सरकारले त्यो राजनीतिक पृष्ठभूमिलाई पनि मिलाउन खोज्यो भने पोखरेल वा रावलको संभावना अझ बढ्न सक्ने कर्मचारीहरुको बुझाइ छ । यी दुबै जना प्रजातान्त्रिक विचारधाराका मानिन्छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



