अञ्जन श्रेष्ठ बने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्ष पदमा आजदेखि अञ्जन श्रेष्ठले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। महासंघको विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठ स्वतः अध्यक्ष पदमा उक्लिएका हुन्।

महासंघसँग उनको सम्बन्ध करिब २४ वर्ष लामो रहेको छ। उनले २०५९ सालमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गर्दै संस्थागत नेतृत्वमा यात्रा सुरु गरेका थिए। त्यसयता उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति तथा रोजगारदाता परिषद सदस्यजस्ता विभिन्न महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन्।
महासंघको ५७औँ साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठ निजी क्षेत्रका स्थापित व्यवसायी समेत हुन्। उनी लक्ष्मी ग्रुप सँग आबद्ध छन्, जहाँ उनले प्याकेजिङ, ट्रेडिङ, स्टिल तथा अटोमोबाइल क्षेत्रमा व्यवसाय विस्तार गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
उनको व्यवसायिक यात्रा २०४५ सालदेखि परिवारद्वारा स्थापना गरिएको कन्फेक्सनरी उद्योगबाट सुरु भएको हो, जुन हाल सुजल फुड का रूपमा सञ्चालनमा छ। अटोमोबाइल क्षेत्रमा भने लक्ष्मी ग्रुपले Hyundai गाडीको आधिकारिक वितरण गर्दै आएको छ।
हाल समूहअन्तर्गत सञ्चालनमा रहेका विभिन्न उद्योगहरूमा तीन हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। नयाँ अध्यक्षका रूपमा श्रेष्ठले निजी क्षेत्रको नेतृत्व गर्दै आर्थिक विकास, औद्योगिक विस्तार र रोजगारी सिर्जनामा थप योगदान दिने अपेक्षा गरिएको छ।



