कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
काठमाडौं–थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको जनाएको छ।

दूतावासको अनुरोधअनुसार सोमबार बेलुकासम्म विवरण उपलब्ध गराउँदै अनलाइन फाराम भर्ने व्यक्तिहरूको लागि उक्त डकुमेन्ट तयार पारिएको हो। दूतावासले बुधबार बेलुकासम्म फाराम भर्नेहरूको डकुमेन्ट भोलि पठाइने जानकारी दिँदै फाराम भर्न बाँकी रहेकाहरूलाई अनलाइन लिङ्कमार्फत तुरुन्त आफ्नो विवरण बुझाउन अनुरोध गरेको छ।
यसअघि दूतावासले चैत ३० र वैशाख १ गते गरी बिनाभिसा अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपालीको उद्धार गरी स्वदेश फिर्ता पठाइसकेको छ। विभिन्न प्रलोभनमा पारी त्यहाँ पु¥याइएका उनीहरूलाई अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरू तथा क्यासिनोमा ठगी लगायतका गैरकानुनी काममा लगाइएको थियो।
![]() |
![]() |
![]() |
|---|
दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ।
दूतावासको अपिल ः भिजिट भिसामा रोजगारीका लागि नजानू
सोमबार दूतावासले एक अत्यन्त जरुरी अनुरोध जारी गर्दै राजदूतावासले आफूलाई प्राप्त भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न र कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन अपिल गरेको छ। यस्ता कार्यमा संलग्न भएको भए तुरुन्त बन्द गरी नेपाल फर्कन दूतावासले आग्रह गरेको छ।
Image Source: © https://mulpatra.com
उच्च तलब र आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडिया लगायतका मुलुकहरूमा रोजगारीका लागि नजान दूतावासले पुनः अनुरोध गरेको छ। विदेश जानुअघि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर र रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरेर मात्र जान दूतावासले सचेत गराएको छ।
धेरै नेपाली नागरिकहरू पर्यटनको बहानामा कम्बोडिया जाने र भिसाको अवधि समाप्त भएपछि पनि त्यहाँ बसिरहेको तथा केही नेपालीहरू अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी राजदूतावासलाई प्राप्त दूतावासले जनाएको छ ।
दूतावासका अनुसार, अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध भएकाले यसलाई नियन्त्रण गर्न र अन्त्य गर्न कम्बोडिया सरकारले गत हप्तादेखि नयाँ कानून लागू गरेको छ। यस नयाँ कानूनअनुसार यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कसुरको प्रकृतिअनुसार ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था छ।
साथै, कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने र त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई समेत तीव्र बनाएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



