पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार
काठमाडौँ । पूर्व अर्थमन्त्रीसहित ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनालाई प्रतिवादी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित थप भ्रष्टाचार आरोपमा अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

निर्माण कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएर राज्य कोषमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ नोक्सानी पुर्याएको अभियोगमा आयोगले मुद्दा दर्ता गराएको हो ।
विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी ‘चाइना सिएमएसी इन्जिनियरिङ’ सँग भएको मूल खरिद सम्झौतामा कर, महसुल र अन्य शुल्कहरू ठेकेदार कम्पनीले नै तिर्नुपर्ने स्पष्ट प्रावधान थियो। तर, तत्कालीन अर्थमन्त्री कार्की, सचिवहरू र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूको मिलेमतोमा उक्त प्रावधान विपरीत ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’ तयार पारिएको भेटिएको अख्तियारको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
मुद्दा दायर गरिएका अन्य उच्च पदाधिकारीहरूमा अर्थ मन्त्रालयका तत्कालीन सचिव शङ्करप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम रहेका छन् । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।
यसैगरी, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, पर्यटन मन्त्रालयका तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र डण्डुराज घिमिरे तथा आयोजना निर्देशक प्रदीप अधिकारीविरुद्ध पनि सोही बराबरको बिगो दाबी गर्दै मुद्दा चलाइएको छ।



