बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा चल्यो डोजर
बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन डोजर चलाएको छ । वडा नम्बर ११ अन्तर्गत क्रिकेट मैदान आसपासको करिब ३६ बिघा क्षेत्रमा बसोबास गर्दै आएका परिवारलाई हटाउन शनिबारदेखि अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार पहिलो दिन दुई वटा डोजरमार्फत ४० वटा घरटहरा हटाइएको छ भने आइतबार थप ६–७ वटा डोजर परिचालन गरिएको छ ।

नगरप्रमुख पूर्णप्रसाद आचार्यले वास्तविक भूमिहीन सुकुमबासीको व्यवस्थापन नगरपालिकाले गर्ने तर सार्वजनिक जग्गा अतिक्रमणलाई निरन्तरता दिन नसकिने बताएका छन् । उनका अनुसार उक्त क्षेत्रमा ७५१ परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये ४१६ अव्यवस्थित बसोबासी, १७२ भूमिहीन दलित र १६३ भूमिहीन सुकुमबासी रहेका छन् ।
नगरपालिकाले वैशाख १६ गते नै १० दिने अल्टिमेटम जारी गर्दै अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको थियो । नगरपालिकाले वास्तविक सुकुमबासी तथा भूमिहीन दलितको पहिचान प्रक्रिया पनि अघि बढाएको जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
हालसम्म ७३ परिवार नगरपालिकाको सम्पर्कमा आएको र उनीहरूलाई होल्डिङ सेन्टरमार्फत अस्थायी बसोबासको व्यवस्था मिलाइएको बताइएको छ । यसैबीच, बस्ती विस्तारका क्रममा केही व्यक्ति तथा विचौलियाले नक्कली कागजात बनाएर जग्गा किनबेच तथा आर्थिक लाभ लिएको उजुरीसमेत आएको नगरपालिकाले जनाएको छ ।



