Close

Recent Posts

सरकारको खर्च सुस्तः १० महिनामा जम्मा ५८.७५ प्रतिशत मात्र खर्च

सरकारको खर्च सुस्तः १० महिनामा जम्मा ५८.७५ प्रतिशत मात्र खर्च
  • २७ बैशाख २०८३, आईतवार १५:५८

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ सकिन दुई महिना बाँकी रहँदा सरकारको बजेट खर्च अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार १९ खर्ब ६४ अर्ब रुपैयाँको कुल बजेटमध्ये १० महिनामा ११ खर्ब ५३ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।

mulpatra

यो कुल विनियोजित बजेटको ५८.७५ प्रतिशत हो । सरकारको सबैभन्दा बढी खर्च चालुतर्फ भएको छ । चालु शीर्षकमा छुट्याइएको ११ खर्ब ८० अर्बमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ खर्च भएको छ, जुन ६८।०४ प्रतिशत हो । चालु खर्चअन्तर्गत कर्मचारी तलब–भत्ता, प्रशासनिक तथा दैनिक सञ्चालन खर्च समावेश हुने गर्छ ।

तर विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने अत्यन्त कमजोर देखिएको छ । सरकारले पुँजीगत शीर्षकमा विनियोजन गरेको ४ खर्ब ७ अर्ब रुपैयाँमध्ये हालसम्म जम्मा १ खर्ब ९ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल पुँजीगत बजेटको २६.८७ प्रतिशत मात्र हो । सडक, पुल, अस्पताल, विद्यालय, सिँचाइ तथा जलविद्युतजस्ता पूर्वाधार निर्माणमा खर्च हुने बजेट कम खर्च हुँदा विकास निर्माणको गति सुस्त बनेको देखिन्छ ।

mulpatra mulpatra mulpatra

वित्तीय व्यवस्थातर्फ छुट्याइएको ३ खर्ब ७५ अर्बमध्ये २ खर्ब ४० अर्ब रुपैयाँ खर्च भएको छ, जुन ६४. १६ प्रतिशत हो । यस शीर्षकअन्तर्गत सरकारले सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी गर्ने गर्छ । उता राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको छैन । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको भए पनि हालसम्म ९ खर्ब ७० अर्ब रुपैयाँ मात्रै संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सरकारले मध्यपूर्वमा बढ्दो तनावका कारण बिटुमिनजस्ता निर्माण सामग्रीको अभाव हुँदा निर्माण कार्य प्रभावित भएको जनाएको छ ।