सरकारले स्वदेशी काठको प्रयोगलाई प्रोत्साहन गर्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वदेशी काठको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वन स्रोतको दिगो व्यवस्थापन र हरित अर्थतन्त्र प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको हो ।

सरकारले दिगो वन व्यवस्थापनमार्फत काठ, जडीबुटी तथा वनजन्य वस्तुको प्रशोधन र मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्ने जनाएको छ । वन स्रोतको वैज्ञानिक उपयोग गर्दै उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य लिइएको कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा मिचाहा प्रजाति, स्याउला लगायतका वनजन्य वस्तुको उपयोग गरी प्राङ्गारिक मल र बायोटेक उत्पादन गर्ने योजना पनि समावेश गरिएको छ । साथै सामुदायिक वनलाई कार्बन क्रेडिटमार्फत प्रत्यक्ष लाभ पुग्ने व्यवस्था मिलाइने सरकारको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
सरकारले वन डढेलो र वन अतिक्रमणलाई रियल टाइम प्रविधिमार्फत अनुगमन गर्ने नीति पनि अघि सारेको छ । राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रको संरक्षण गर्दै दुर्लभ वन्यजन्तुको संरक्षणलाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।
त्यसैगरी जलभरण क्षेत्रको विकास, वायु गुणस्तर सुधार तथा प्रदूषण नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारले हरित अर्थतन्त्रलाई टेवा दिने नीति अवलम्बन गर्दै वातावरण संरक्षण र आर्थिक विकासलाई सँगसँगै अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



