नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडेलमा पुनर्संरचना गर्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाल पर्यटन बोर्ड लाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा पुनर्संरचना गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने नीति अघि सारिएको हो ।

सरकारले पर्वतारोहण, राफ्टिङ, ट्रेकिङ, बन्जी, स्काइ ड्राइभिङ लगायत साहसिक पर्यटनसँग सम्बन्धित पूर्वाधारको विकास र स्तरोन्नति गर्ने जनाएको छ । साथै नयाँ पर्यटन इकोसिस्टम विकास गरी पर्यटन क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाइने कार्यक्रममै उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा कर्णाली, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशलाई प्राथमिकतामा राखेर नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा प्रवर्द्धन गरिने उल्लेख छ । हिमाली तथा पहाडी क्षेत्रमा १० वटा नयाँ पर्यटकीय पदमार्गको पहिचान र प्रवर्द्धन गर्ने योजना पनि सरकारले अघि सारेको छ ।
![]() |
![]() |
![]() |
|---|
त्यसैगरी सरकारले गौतम बुद्ध र भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय उडान विस्तारका लागि कूटनीतिक पहल गर्ने जनाएको छ । ती विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न सम्बन्धित मुलुक र निकायसँग समन्वय गरिने राष्ट्रपति पौडेलले बताए ।
सरकारले पर्यटन पूर्वाधार विस्तार, नयाँ गन्तव्य विकास तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारमार्फत पर्यटन क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख आधार बनाउने लक्ष्य लिएको जनाएको छ ।



