Close

Recent Posts

दश हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने

दश हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने
  • २८ बैशाख २०८३, सोमबार १७:५०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दश हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट सुरु गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने नीति अघि सारिएको हो ।

mulpatra

नीति तथा कार्यक्रममा भनिएको छ ‘विद्यालयलाई समता र समृद्धिको आधारका रूपमा स्थापित गरिनेछ । माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिनेछ । पुस्तक, दिवा खाजा र पोसाकको सहज वितरण सहित विद्यालयलाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रमको समयसापेक्ष पुनरावलोकन गरिनेछ ।’

त्यस्तै सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी र गुणस्तर(केन्द्रित बनाउन स्पष्ट नियमन गरिने कुरा समेत राखिएको छ ।

mulpatra mulpatra mulpatra

ई–लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री, कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गर्दै उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउँदै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनर्संरचना गरिने कुरा समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

दश हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिने र विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरबन्दी मिलान, पुस्तकालय र प्रयोगशाला सुधार एकीकृत योजनामार्फत कार्यान्वयन गरिने नीति तथा कार्यक्रम ल्याएको छ ।

त्यसैगरि विपन्न, सीमान्तकृत, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका तथा पिछडिएका क्षेत्रका सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गरिने, स्वास्थ्य, पोषण, छात्रवृत्ति, आवासीय सुविधा र सुरक्षित सिकाइ वातावरणलाई सुदृढ गरिने कुरा समेत समेटिएको छ ।

Image Source: © https://mulpatra.com

अटिजम तथा न्यूरोडाइभर्सिटी बालबालिकाका लागि थेरापी सेवा, असिस्टिभ टेक्नोलोजी, विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिने र सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणालीमार्फत सिधै बैंक खातामा भुक्तानी हुने व्यवस्था मिलाइने व्यवस्था गरिनेछ ।

शिक्षक नियुक्ति, पदोन्नति र मूल्याङ्कन प्रणालीलाई योग्यतामा आधारित र पारदर्शी बनाइनेछ र शिक्षकको पेशागत विकास, अभिलेख व्यवस्थापन र उचित पारिश्रमिक सुनिश्चित गरिने साथै उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने समेत नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com