श्रम मन्त्रीकै सचिवालयका व्यक्ति लुटपाट र शरिर बन्धकमा पक्राउ
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ लाई पक्राउ गरेको छ । श्रम मन्त्रीको सचिवालयमा हलुका सवारी चालकको पदमा कार्यरत राजविराज नगरपालिका–३, पाख्रेल टोल बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँलाई लुटपाट र शरिर बन्धकमा संलग्न भएकाले प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, २०८२ फागुन १४ गते स्थानीय राजु कुमार चौधरीलाई बन्दुक देखाउँदै बलपूर्वक कब्जामा लिएको र बन्धक बनाई निर्घात कुटपिट गर्नुका साथै धम्की दिँदै भुईँमा थुकेर चाट्न समेत बाध्य बनाएको र सुनको सिक्री, मोबाइल, नगद १ लाख २० हजार लुटेको थियो ।
मियाँ सहित अन्य तीन जना मिलेर चौधरीलाई कुटपिट र लुटपाट गरेपछि लुगा समेत फुकाएर नाङ्गै छाडी भागेका थिए। चौधरीले प्रहरीमा उजुरी दिएपछि मियाँविरुद्ध जिल्ला अदालत सप्तरीले वैशाख २४ गते नै पक्राउ अनुमति जारी गरिसकेको थियो । प्रहरीका अनुसार मियाँ र अन्य आरोपीहरूविरुद्ध अपहरण तथा शरीर बन्धक र अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता भई अनुसन्धान जारी छ ।
![]() |
![]() |
![]() |
|---|
मुस्तकिम मियाँ यसअघि नै विद्युतीय अपराध सम्बन्धी कसुर र अर्को एक युवकलाई नाङ्गेझार पारेर कुटपिट गरेको गरी थप दुई वटा मुद्दामा समेत फरार रहेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको स्वकीय सचिवालयमा पटके अपराधीलाई नियुक्ति दिलाएको विषयमा गम्भिर प्रश्न समेत उठेको छ ।




