बादलले छोप्न खोजे ओलीको टाउको, पृथ्वी र विष्णुहरूले देखाइदिए खुट्टा

बादलले छोप्न खोजे ओलीको टाउको, पृथ्वी र विष्णुहरूले देखाइदिए खुट्टा
  • ९ जेष्ठ २०८३, शनिबार १९:४४

काठमाडौं । नेकपा एमालेको आठौ सचिवालय बैठक गुण्डुमा बसिरहेको छ । शुक्रबार सुरु भएको बैठकमा पार्टीभित्र लामो समयदेखि दबिएको असन्तुष्टिलाई सतहमा ल्याउने काम गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि पहिलोपटक यति खुला, संगठित प्रश्न उठेको सहभागी नेताले बताएका छन् ।

mulpatra

एमाले भित्र चार जना उपाध्यक्ष, महासचिव, उपमहासचिवहरुबाट विरोधको स्वर उठेपछि अध्यक्ष ओलीसँग चर्काचर्कीको अवस्था सिर्जना भएको छ । बैठक भित्र उठेका विषयले एमालेभित्रको विवाद सामान्य नीति, सिद्धान्त वा कार्ययोजनाको नभई नेतृत्व, उत्तराधिकार र पार्टीको भविष्य रहेको स्पष्ट पारेको छ । उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले ‘एमाले तपाईंले मात्रै बनाएको पार्टी हो ? एमाले तपाईंको प्राइभेट कम्पनी हो ? भनेर सचिवालयमा अध्यक्षलाई स्पष्ट भनेपछि अध्यक्ष ओली माथि पार्टी एकलौटी गरि अघि बढ्न खोजेको आरोप समेत लागेको छ ।

तत्कालिन प्रधानमन्त्रीका रुपमा रहेका ओली जेनजी आन्दोलनका क्रममा हेलिकप्टर चढेर भाग्न वाध्य भएका थिए । जेनजी आन्दोलन पछि बनेको सुसिला कार्की नेतृत्वको सरकारले आम निर्वाचन गराएपछि ओली नेतृत्वको नेकपा एमाले सर्वनाक हारको अवस्थामा आएको छ । केही बर्ष अघि मात्र दुई तिहाईको सरकार बनाएका नेकपा अहिले औलामा गन्ने परिस्थितिमा आइपुग्नु धेरैले ओली माथि आरोप लगाउने गरेका छन् ।

mulpatra mulpatra mulpatra

हिजो देखि सुरु एमाले सचिवालय बैठकमा सरकारको नेतृत्व, पार्टी नेतृत्व र त्यसको अहिलेको परिणाममा ओलीको अहंमता लुकेको आरोप खेपीरहँदा ओलीका पक्षमा रहेका पुर्व माओवादी नेता, एमाले उपाध्यक्ष रामबहादुर थापाले विदेशी शक्ति देखाएर थाप्न खोजेको काँध लामो समय टिकेन ।

बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलले ओलीको नेतृत्वको प्रतिरक्षा गर्ने प्रयास गरेका थिए। उनले पार्टी संकट, सरकारको असफलता र चुनावी पराजयलाई डिप स्टेट, विदेशी–स्वदेशी शक्तिको घेराबन्दी तथा सुरक्षा संयन्त्रको भूमिकासँग जोड्दै नेतृत्वलाई बाह्य षड्यन्त्रको शिकारका रूपमा प्रस्तुत गर्न खोजेका थिए। उनको तर्कको सार पार्टी संकटको जरो नेतृत्वको कमजोरी होइन, बाह्य शक्तिको चलखेल रहेको थियो ।

तर बादलले हार बाह्य कारण भन्दै ओलीको टाउको छोप्ने प्रयास गरिरहँदा, पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेल, स्वयं ओलीका यस भन्दा अघिका सारथी महासचिव शंकर पोखरेलहरूले नेतृत्वको वास्तविक खुट्टा देखाइदिएका छन्।

Image Source: © https://mulpatra.com

ओलीले नेतृत्वको रक्षा नगर्नेहरूलाई कारबाही हुन सक्छ भन्ने आशयको चेतावनीपूर्ण भाषा प्रयोग गरेपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको प्रतिवाद सामाजिक सन्जालमा समेत चर्चित बन्यो । ‘एमाले तपाईंको प्राइभेट कम्पनी हो ?’ एमाले तपाईंले मात्र निर्माण गरेको पार्टी हो ? भनेर प्रतिवाद गरेपछि सचिवालयमा बोल्ने आँट अन्यमा समेत पलाएको आंकलन गर्न सकिन्छ ।

गुरुङको प्रतिवादले एमालेभित्र असहमति व्यक्त गर्नु पार्टीविरोधी गतिविधि होइन, पार्टी भित्रको आन्तरिक लोकतन्त्रको मागका रूपमा स्थापित हुने देखिएको छ ।

गुरुङ मात्र होइन उपाध्यक्ष विष्णु पौडेलले आफ्ना कुरा राख्ने क्रममा ७० वर्षे उमेरहद र दुई कार्यकालसम्बन्धी व्यवस्था हटाउनु रणनीतिक भूल भएको भन्दै पार्टीमा त्यसलाई तत्काल कार्यान्वनय गर्ने माग गरेका छन् ।

पौडेलले निर्णय प्रक्रियाको संस्थागतकरण, पार्टीभित्र लोकतान्त्रिक अभ्यासको पुनर्स्थापना तथा संगठन पुनर्गठनको आवश्यकता औंल्याएर अप्रत्यक्ष रूपमा वर्तमान नेतृत्व शैलीमाथि प्रश्न उठाएका छन्।

उपाध्यक्ष गुरुङ, विष्णु मात्र होइन रघुजी पन्त, गोकर्ण विष्ट समेत नेतृत्वको विरुद्धमा उभिएपछि अप्ठेरोमा परेका ओलीलाई आफ्ना ठानेका महासचिव शंकर पोखरेलले समेत झस्काइदिएका छन् । पाँच जना उपाध्यक्ष मध्ये चार जना ओलीले मार्ग प्रसस्त गर्नुपर्ने धारणा राखिरहँदा महासचिव पोखरेलले ‘पार्टी पुनर्गठनको आवाज ठुलो छ । अव यथास्थितिबाट अघि बढ्न सकिँदैन भनेर स्पष्ट धारणा राखेपछि ओली झन समस्यामा परेका छन् ।

उपमहासचिव योगेश भट्टराईले त तत्काल राजिनामा गरेर अघि बढ्न सुझाएपछि ओली सचिवालयमा नै अल्पमतमा पर्ने देखिएको छ । सचिवालय बैठक जारी रहिरहेको अवस्थामा ओली कसरी अघि बढ्छन त्यो हेर्न अझै बाँकी छ । तर पार्टीको सचिवालयमा देखिएको नेतृत्व प्रतिको असहमतिको राजनीतिक अर्थ नेतृत्वको पुनर्संरचना, पुस्तान्तरण र हस्तान्तरणसँग जोडिएको छ।

पार्टीका उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई एउटै धारमा उभिनुले एमाले भित्र पुर्नसंरचना र नेतृत्व हस्तानतरणको मागलाई संस्थागत गरेको छ ।

दशौ र एघारौं महाधिवेशनमा ओली खेमामै देखिएका यी नेताहरू ओलीकै शक्ति संरचनाबाट उदाएका नेताहरू हुन्। त्यसैले उनीहरूको नेतृत्व प्रतिको असहमति र पुनर्संरचनाको मागलाई सामान्य असन्तुष्टि वा गुटगत असहमति भनेर टार्न सकिने अवस्थामा ओली छैनन् ।

उपाध्यक्ष थापाले नेतृत्वको बचाउका लागि दोष थोपर्न खोजेको डिप स्टेट वा स्वदेशी, विदेशी घेराबन्दीको मुद्धा समेत नेतृत्वलाई बचाउन प्रयोग गरिएको कमजोर हतियारका रुपमा गुरुङहरुले बुझेका छन् ।

लामो समयसम्म ओलीले विभिन्न शक्ति प्रयोग गरेर वैकल्पिक नेतृत्वको उदय हुन दिएका थिएनन् । पार्टी, संगठनमाथिको नियन्त्रण र आक्रामक राजनीतिक व्यक्तित्वमा टिकेका ओलीलाई सचिवालयले दिएको यो चुनौती उनका लागि भारी पर्ने देखिएको छ ।

अन्ततः हिजो र आज बसेको सचिवालय बैठकले एमाले भित्रको नेतृत्व परिवर्तनको बढ्दो मागलाई स्थापित गर्न नेतृत्वलाई चुनौति दिएको छ । नेतृत्वले बाह्य षड्यन्त्रको कथा सुनाएर टाउको छोप्ने प्रयास गर्नु बेकार हो भन्ने समेत सावित गरिदिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com