नदीजन्य पदार्थ ठेक्कामा राजस्व हिनामिना आरोप, गढीमाई नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाको समनपुरघाटस्थित नदीजन्य पदार्थ उत्खनन तथा बिक्री ठेक्कामा करोडौँ रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा नगर प्रमुख श्याम प्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यादवसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय र भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिका सञ्चालक राधेश्याम साहलाई प्रतिवादी बनाइएको छ। अख्तियारले उनीहरूबाट जनही २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो असुल, जरिवाना तथा प्रचलित कानुनबमोजिम कैद सजायको माग गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७६र७७ मा ३ करोड २५ लाख रुपैयाँमा ठेक्का लिएको कम्पनीले सम्झौताअनुसार तोकिएको समयभित्र सम्पूर्ण रकम दाखिला नगरे पनि नगरपालिकाका पदाधिकारीहरूको मिलेमतोमा झुट्टा टिप्पणी तयार गरी प्रक्रिया अघि बढाइएको थियो। एक महिनाका लागि १० हजार घनमिटर उत्खननको अस्थायी अनुमति दिइएकोमा ५४ हजार ३ सय ५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न दिई ठेकेदारलाई ३ करोड ३२ लाख ६९ हजार ७८९ रुपैयाँ बराबरको अवैध लाभ पुर्याइएको आरोपपत्रमा उल्लेख छ।
![]() |
![]() |
![]() |
|---|
साथै, सम्झौताअनुसार बुझाउन बाँकी २ करोड १५ लाख ३७ हजार रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) बापत ४२ लाख २५ हजार रुपैयाँ दाखिला नगर्दा नेपाल सरकार र नगरपालिकालाई प्रत्यक्ष आर्थिक नोक्सानी पुगेको अख्तियारले जनाएको छ।



