नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा वैदेशिक रोजगार ऐन संशोधन सम्बन्धी सुझाव मन्त्रालयमा पेश
काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्ने उद्देश्यले गठन गरेको समितिबाट तयार गरिएको प्रस्तावित संशोधन विधेयकको मस्यौदामा सर्वसाधारणको राय–सुझाव माग गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ।
उक्त सूचनाको आधारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ ले संघका पूर्वअध्यक्षहरू, शुभेच्छुकहरू, घटक संस्थाका प्रतिनिधिहरू, क्षेत्रीय तथा भेगीय समितिका प्रतिनिधिहरू र वर्तमान कार्यसमितिसँग विस्तृत छलफल गरी व्यवसायीहरूको साझा धारणा संकलन गरेको थियो।
संकलित राय–सुझावका आधारमा ऐनमा संशोधन गर्नुपर्ने विषयहरू समेटिएको विस्तृत सुझावसहितको प्रतिवेदन (तीन महले) संघका प्रतिनिधिमण्डलले युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिवसमक्ष औपचारिक रूपमा पेश गरेको महासचिव हिराबहादुर (हरि) डाँगीले जानकारी दिए ।
संघले व्यवसायीहरूको हकहित संरक्षण, वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन आवश्यक कानुनी सुधारका लागि निरन्तर रचनात्मक भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

