घुस दिएर नेपाली राजनीतिज्ञविरुद्ध रिपोर्ट बनाउन खोजेको हल्ला अफवाह भएको चिनियाँ दूतावासको स्पष्टीकरण
काठमाडौं । हिजो सामाजिक सन्जालमा छरिएको चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञका विरुद्ध नकारात्मक रिपोर्ट बनाउन पत्रकारहरूलाई घुस दिन खोजेको भनी फैलिएको हल्लाप्रति नेपालस्थित चिनियाँ दूतावासले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दूतावासका प्रवक्ताले फेसबुकमार्फत जारी गरेको प्रतिक्रियामा उक्त आरोपलाई अस्वीकार गर्दै यसबारे गम्भीर अनुसन्धान गर्न नेपाली निकायलाई आग्रह गरेका छन् ।

सामाजिक सन्जालमा भैलिएको हल्ला प्रति चिनियाँ पक्ष स्तब्ध भएको र त्यस्ता निराधार हल्लालाई अस्विकार गर्दै जानाजान बदनाम गर्ने यस्ता कार्यहरूको कडा शब्दमा निन्दा गर्ने कुरा दूतावासका प्रवक्ताले जनाएका छन् ।
चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रयासहरूलाई निरन्तर र दृढतापूर्वक समर्थन गर्दै आएको र नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास एवं जनताको जीविकोपार्जनमा सुधारलाई सक्रिय रूपमा सहयोग गरिरहेको दूतावासको भनाइ रहेको छ।
![]() |
![]() |
![]() |
|---|
प्रवक्ताले सामाजिक सञ्जालमा फैलिएको यो हल्लाको गम्भीरतापूर्वक छानबिन गर्न नेपाल सरकारसँग माग गर्दै हल्लाहरूको गम्भीर, गहन र पूर्ण अनुसन्धान गर्न र त्यसमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरू साथै पछाडि रहेकाहरूलाई नेपाली कानून अनुसार कडा सजाय दिन आग्रहपनि गरेका छन्।



