अर्थ मन्त्रालयको बार्गेनिङमा मधेश प्रदेश संकटमा
काठमाडौं । मधेश प्रदेश सरकार अर्थ मन्त्रालयको भागबण्डा विवादका कारण पुनः संकटमा परेको छ । विश्वासको मतअघि कांग्रेस, एमाले र नेकपाबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै नेकपाले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

स्रोतका अनुसार नेकपाले आफूलाई अर्थ मन्त्रालय नदिए समर्थन फिर्ता लिन सक्ने संकेत गरेको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अर्थ मन्त्रालय दिने आश्वासन दिए पनि दलहरूबीच अविश्वास बढ्दै गएको देखिएको छ ।
नेकपाले आगामी आर्थिक वर्षको बजेट आफूले बनाउने गरी अर्थ मन्त्रालय मागेको छ । पार्टीले उपभोक्ता समितिमार्फत बजेट वितरण र कमिसनमुखी योजना स्वीकार नगर्ने अडान राख्दै सबै योजना टेन्डर प्रक्रियाबाट कार्यान्वयन गरिने जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
यता कांग्रेस र एमाले भने आफूअनुकूल बजेट ल्याउन चाहेको आरोप नेकपाले लगाएको छ । सरकारबाट जसपा नेपाल र जनमत पार्टी बाहिरिएपछि नेकपाको बार्गेनिङ शक्ति झन् बलियो बनेको छ ।
वैकल्पिक सरकारको सम्भावना र मन्त्रालय बाँडफाँटको रस्साकस्सीले मधेश सरकार थप अस्थिर बन्ने संकेत देखिएको छ । एमालेले समेत चार मन्त्रालयको माग गर्दै दबाब बढाएको छ । आइतबार मन्त्रीहरूको सूची लिएर मुख्यमन्त्री निवास पुगेको एमाले अन्तिम समयमा सहमति नजुटेपछि खाली हात फर्किएको थियो ।
अर्थ मन्त्रालयलाई लिएर जारी राजनीतिक तानातानले मधेश प्रदेशको आगामी बजेट र सरकार दुवै अनिश्चितताको घेरामा परेको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



