सुकुम्बासी राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि बिचल्लीमा सयौं परिवार
काठमाडौं । अविरल वर्षासँगै बागमती नदीमा आएको बाढीले कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर जलमग्न भएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारहरू पुनः समस्यामा परेका छन्।

सरकारले नदी किनारका सुकुम्बासी बस्ती हटाएर सुरक्षित स्थानका रूपमा राखेको उक्त होल्डिङ सेन्टरमै बाढी पसेपछि सयौं परिवारको लत्ताकपडा, खाद्यान्न, औषधि तथा अन्य दैनिक उपभोगका सामग्री डुबानमा परेका छन्। बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
बाग्मतीमा बाढी बढेपछि मध्यरातमा एकाएक पानीको सतह बढ्न थालेकाले ज्यान जोगाउन लत्ता कपडा, भाँडाकुँडा औषधी समेत छोडेर भाग्न बाध्य भएको सुकुम्बासीेले बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
सरकारले बाढीको जोखिमबाट जोगाउन भन्दै थापाथली र शान्तिनगर क्षेत्रका सुकुम्बासीलाई केही महिनाअघि यस होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो। तर सुरक्षित भनिएको स्थानमै बाढी पसेपछि उनीहरू पुनः विस्थापित हुन बाध्य भएका छन्।
स्थानीयवासीका अनुसार बाढी घट्न थाले पनि होल्डिङ सेन्टरभित्र रहेका अधिकांश सामान प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्। उनीहरू अहिले आवश्यक सामग्रीको अभावसँगै भविष्यको बसोबासबारे अन्योलमा छन्।



