सार्वजनिक संस्थानमा ७ खर्ब ९८ अर्ब ५६ करोड ऋण–लगानी, १६ संस्थानहरु घाटामा
काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूमा गरेको लगानी निरन्तर बढ्दै गए पनि उल्लेख्य संख्यामा संस्थानहरू अझै घाटामा सञ्चालन भइरहेका छन् । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सार्वजनिक संस्थानहरूमा सरकारको कुल सेयर तथा ऋण लगानी १३.४४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

कुल लगानीमध्ये ३ खर्ब ७० अर्ब २५ करोड २० लाख रुपैयाँ सेयर लगानी रहेको छ भने ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ ऋण लगानी रहेको छ ।
हाल सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा सञ्चालन भइरहेका छन् भने १६ वटा संस्थान घाटामा रहेका छन् । थप २ वटा संस्थानको व्यावसायिक कारोबार बन्द अवस्थामा रहेको आर्थिक सर्वेक्षणले देखाएको छ ।
![]() |
![]() |
![]() |
|---|
सर्वेक्षणअनुसार सार्वजनिक संस्थानहरूको समग्र खुद नाफा १२.०३ प्रतिशतले बढेर ४५ अर्ब ८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । नाफामा रहेका संस्थानहरूले मात्रै ४८ अर्ब ८९ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १०.५८ प्रतिशत बढी हो । यता घाटामा रहेका संस्थानहरूको कुल खुद नोक्सानी ३ अर्ब ८० करोड ५७ लाख रुपैयाँ रहेको छ ।
घाटामा रहेका संस्थानमध्ये नेपाल वायुसेवा निगम सबैभन्दा बढी नोक्सानीमा रहेको छ । निगमको सञ्चित नोक्सानी १८ अर्ब ९० करोड ९८ लाख रुपैयाँ पुगेको छ भने यसको शेयरधनी कोष ९नेटवर्थ० ७ अर्ब ९३ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । समीक्षा अवधिमा सात वटा संस्थानको नेटवर्थ ऋणात्मक रहेको उल्लेख गरिएको छ ।
औद्योगिक क्षेत्रका संस्थानहरू अझै कमजोर अवस्थामा देखिएका छन् । दुग्ध विकास संस्थान, हेटौंडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, नेपाल औषधि लिमिटेड, नेपाल ओरियन्ट म्याग्नेसाइट, नेपाल मेटल कम्पनी लिमिटेडलगायत संस्थान घाटामा छन् । बुटवल धागो कारखाना र धौवादी फलाम कम्पनीजस्ता संस्थान सञ्चालनमा नरहे पनि प्रशासनिक खर्चका कारण घाटा बेहोरिरहेका छन् ।
Image Source: © https://mulpatra.com
यद्यपि क्षेत्रगत रूपमा हेर्दा जनोपयोगी, वित्तीय, व्यापारिक तथा सेवा क्षेत्रका संस्थानहरूको प्रदर्शन अपेक्षाकृत राम्रो देखिएको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक तथा नेपाल पुनर्बिमा कम्पनीजस्ता संस्थान नाफामा सञ्चालन भएका छन् ।
सरकारलाई सार्वजनिक संस्थानबाट प्राप्त हुने लाभांश भने घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड ५६ लाख रुपैयाँ लाभांश प्राप्त भएकोमा २०८१/८२ मा यो रकम ५.२ प्रतिशतले घटेर ८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । कुल सेयर लगानीको आधारमा लाभांश अनुपात २।३ प्रतिशत रहेको छ ।
सार्वजनिक संस्थानहरूको वित्तीय अनुशासनमा पनि चुनौती देखिएको छ । आर्थिक वर्ष २०८१/८२ सम्म अन्तिम लेखापरीक्षण सम्पन्न गर्ने संस्थान २७ वटा मात्रै रहेका छन् । यस्तै, कोषमा व्यवस्था नगरिएको दायित्व १०.१० प्रतिशतले बढेर ६६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ पुगेको छ भने सम्भावित दायित्व ३।०३ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब ४५ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
हाल सार्वजनिक संस्थानहरूमा स्वीकृत ३८ हजार २ सय ८५ दरबन्दीमध्ये ३० हजार ३ सय ५२ जना कर्मचारी कार्यरत छन् । प्रशासनिक तथा कर्मचारी खर्च भने ८.३६ प्रतिशतले घटेर ६१ अर्ब ५ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



