आज बजेट ल्याउँदै सरकार
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज बजेट सार्वजनिक गर्दै छ। नेपालको संविधानको धारा ११९ बमोजिम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची छ। संविधानमा सरकारको वार्षिक बजेट जेठ १५ गते ल्याउनुपर्ने व्यवस्था छ। सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णीम वाग्लेले संसद्मा आर्थिक वर्ष २०८३/८४ को बार्षिक बजेट पेश गर्नेछन्।

सरकारले चालु आर्थिक बर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालू खर्चका लागि ११ खर्ब ८० अर्ब र पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब छुट्याइएको थियो भने वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब व्यवस्था गरिएको थियो।
आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि भने बजेटको आकार बढ्ने अर्थश्रोतले बताएको छ । प्रधानमन्त्रीले बजेट बढाउन दबाब दिएपछि अर्थमन्त्री स्वर्णीम वाग्लेलाई बजेट बढाउन दबाब परेको छ । अर्थमन्त्री वाग्लेले २२ अर्ब सम्मको बजेट ल्याउने अनुमान गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
बजेटमा कृषि तथा वन, सूचना तथा प्रविधि, पर्यटन, ऊर्जा, उद्योग र भौतिक पूर्वाधार’लाई लगानीको मुख्य क्षेत्र तोकिने छ। स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गर्ने, स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गर्ने, सातामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दै’ कार्यक्रम पनि बजेटमा समेटिनेछ। उद्यमशीलता मैत्री शिक्षा, जनताको जलविद्युत् कार्यक्रम, जलविद्युत् निर्माणका लागि स्वःपूँजी परिचालन गर्ने विषय पनि बजेटले समेट्नेछ।
सरकारले निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्ने र कर चुहावट घटाउनेगरी कर प्रणालीको पुनर्संरचना गर्ने तयारी गरेको छ। अर्थतन्त्र सुधारका लागि विगतमा सरकारले गठन गरेका समिति तथा आयोगले दिएका प्रतिवेदन कार्यान्वयन गर्नेगरी बजेट ल्याइने छ। पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा गठन भएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्रका समस्या, कारण र आगामी दिनमा गर्नुपर्ने कामको सुझाव दिएको छ। ती सुझाव बजेटमा समेटिने अपेक्षा छ।



