Close

Recent Posts

‘मेड इन मधेस, समृद्ध प्रदेश’ नारा सहित नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राख्यो मधेश प्रदेशले

‘मेड इन मधेस, समृद्ध प्रदेश’ नारा सहित नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राख्यो मधेश प्रदेशले
  • १५ जेष्ठ २०८३, शुक्रबार १५:०८

काठमाडौं । मधेश प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रममा मधेश प्रदेशको समृद्धिको मुख्य आधार कृषिलाई लिँदै आर्थिक विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि गर्न जोड दिएको छ ।

mulpatra

“मेड इन मधेश, समृद्ध प्रदेश” भन्ने नारालाई मध्यनजर गर्दै “उत्पादनशील मधेश, आत्मनिर्भर देश” अभियानलाई केन्द्रमा राखी खाद्यान्नमा आत्मनिर्भरता बढाउन कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम सञ्चालनमा ल्याउने र कृषिलाई प्रादेशिक अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गरी “फिड द नेशन” लाई थप प्रभावकारी बनाउने कार्यक्रम ल्याएको छ ।

‘बीउ प्रवर्द्धन परियोजना’ माफैत प्रदेशका विशिष्ट रैथाने बालीहरूको पहिचान, संरक्षण र व्यावसायिक प्रवर्द्धनको नीति अवलम्बन गरी धान, गहुँ, मकै, कोदो, तेलहन र दलहन बालीको बीउमा प्रदेशलाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने नारालाई अघि सारेको छ ।

mulpatra

त्यस्तै “किसानको शान, मधेशको मखान” भन्ने संकल्पलाई आत्मसात् गर्दै प्रदेशको विशिष्ट पहिचान बोकेको मखान खेतीको व्यावसायिक विकास र विस्तार गरिने र यसको प्रशोधन, प्याकेजिङ, लेबलिङ र ब्रान्डिङलगायतका कार्यमा संलग्न किसान तथा उद्यमीहरूलाई विशेष प्रोत्साहन गरिने कार्यक्रम ल्याएको छ ।

माछा पालन तथा मत्स्य बीउ व्यवसायको दिगो व्यवस्थापन गर्न उत्पादनदेखि बजारीकरणसम्म मूल्य शृङ्खलामा आधारित परियोजना सञ्चालन गर्ने, नवीनतम प्रविधिको प्रयोगमार्फत मत्स्य तथा मासु उत्पादनमा वृद्धि गरी प्रशोधन, प्याकेजिङ र बजारीकरणलाई विशेष प्रोत्साहन गर्ने घोषणा गरेको छ।

Image Source: © https://mulpatra.com

“कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार” भन्ने नाराका साथ माटोमा प्राङ्गारिक पदार्थको मात्रा उल्लेख्य रूपमा वृद्धि गर्न प्राङ्गारिक, जैविक, भर्मी कम्पोस्ट, हरियो मल र जीवाणु मलको प्रयोगलाई उच्च प्राथमिकता दिँदै किसानहरूलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम छ ।

उखुको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खेती भइरहेको क्षेत्रफल विस्तार गर्न मल, बीउ, आधुनिक उपकरण र सिँचाइको सहज व्यवस्थापनसहितको ‘उखु खेती उत्पादन सुधार परियोजना’ सञ्चालनमा ल्याइने, कृषि क्षेत्रको विकास र लागत न्यूनीकरणका लागि एकीकृत सिँचाइ तथा जलस्रोत व्यवस्थापन नीति अवलम्बन गरिने कार्यक्रम घोषणा गरिएको छ ।

त्यस्तै पशुधनको सुरक्षा र दूध–मासुको गुणस्तर अभिवृद्धि गर्न खोरेत लगायतका पशुजन्य रोगहरूको प्रभावकारी नियन्त्रण तथा उन्मूलनका विशेष कार्यक्रम सञ्चालन गरिने्, कृषि अनुदान प्रणालीलाई पारदर्शी र नतिजामुखी बनाउन वास्तविक उत्पादनका आधारमा कृषकहरूको बैंक खातामा सिधै प्रोत्साहन रकम जम्मा गरिने जस्ता कार्यक्रमहरु ल्याएको छ ।

कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल र दूध जस्ता चाँडै बिग्रने (नाशवान) कृषि उपजले बजार नपाएर खेर जाने अवस्थाको पूर्ण अन्त्य गर्न स्थानीय तह र सहकारीसँगको साझेदारीमा ‘स्थानीय खरिद तथा भण्डारण प्रणाली’ लागू गरिने र यस अन्तर्गत उत्पादित कृषि उपज गाउँमै खरिद गर्न प्रत्येक स्थानीय तहमा आवश्यकता अनुसार कृषि सङ्कलन केन्द्र, चिस्यान केन्द्र र दूध चिस्यान केन्द्र स्थापना गरिने कार्यक्रम ल्याएको छ ।

त्यसैगरि उत्पादन भएका कृषि उपजलाई सुरक्षित रूपमा बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्स र चिस्यानयुक्त ढुवानीका साधन सञ्चालन गर्ने सहकारी तथा निजी क्षेत्रलाई प्रदेश सरकारले विशेष अनुदान उपलब्ध गराउने व्यवस्था मिलाउने, कृषिमा विद्युत् निर्भरता र उत्पादन लागत घटाउन पम्पसेट र ट्युबवेल सञ्चालनका लागि ‘सौर्य सिँचाइ प्रवर्द्धन कार्यक्रम’ लागू गरिने र साना तथा सीमान्तकृत किसानहरूलाई सोलार पम्प खरिद तथा जडानमा प्रदेश सरकारले विशेष अनुदान उपलब्ध गराउने गरि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com