आगामी वर्ष एक हजार कि.मि. सडक कालोपत्रे हुने, कुन सडकका लागि कति रकम विनियोजन भयो ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि पूर्वाधार तथा यातायात क्षेत्रलाई प्राथमिकतामा राख्दै देशभर एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णीम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सडक, पुल, सुरुङमार्ग तथा रेलमार्ग निर्माणका लागि अर्बौं रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

सरकारले आगामी वर्ष २७५ वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिएको छ। साथै १ हजार २८ किलोमिटर लामो पूर्व–पश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
काठमाडौं–तराई द्रुतमार्ग निर्माणलाई तीव्रता दिँदै सो आयोजनाअन्तर्गत ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङमार्ग निर्माण कार्य अघि बढाइने भएको छ। यसका लागि १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
सरकारले हुलाकी राजमार्गलाई आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राख्दै ४ अर्ब ६५ करोड रुपैयाँ छुट्याएको छ। त्यस्तै कर्णाली राजमार्गका लागि १ अर्ब रुपैयाँ, पुष्पलाल (मध्यपहाडी) राजमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ तथा मदन भण्डारी राजमार्गका लागि १ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
आगामी तीन वर्षभित्र सबै रणनीतिक सडक पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ बजेट छुट्याएको छ। तनहुँको आँबुखैरेनी सडक आयोजनाका लागि ६ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
कर्णाली करिडोरमा ३१ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ। कालीगण्डकी र कोशी करिडोरसहित विभिन्न करिडोर सडक आयोजनाका लागि ६ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। गल्छी–स्याफ्रुबेसी सडक निर्माणका लागि १ अर्ब ३५ करोड रुपैयाँ छुट्याइएको छ।
Image Source: © https://mulpatra.com
दूरदराजका क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले दार्चुला–टिंकर भञ्ज्याङ सडक ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिँदै बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ।
नयाँ सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनलाई समेत सरकारले प्राथमिकतामा राखेको छ। टोखा–छहरे सुरुङमार्ग र जाजरकोट–जुम्ला सुरुङमार्गको विस्तृत अध्ययन गरिने भएको छ। यस्तै खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ, मझिमटार–शक्तिखोर तथा चिसापानी–बबई सुरुङमार्गको अध्ययन पनि आगामी वर्ष गरिनेछ।
सडक सुरक्षामा सुधार ल्याउन २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यसैगरी बर्दिवासदेखि काठमाडौं–मधेश द्रुतमार्गको प्रारम्भिक बिन्दुसम्म रेलमार्ग विस्तारको काम अघि बढाइने भएको छ।
देशभरका शहरी सडकको नियमित मर्मत–सम्भार तथा सडक सञ्जालको स्तरोन्नतिका लागि २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ। वर्षायाममा हुने सडक अवरोध न्यूनीकरणका लागि पहिरो व्यवस्थापनमा ३ अर्ब १७ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
यातायात क्षेत्रमा महिलाको सुरक्षालाई विशेष ध्यान दिँदै सरकारले ‘ब्लु बस’ सञ्चालन कार्यक्रम समेत अघि बढाउने घोषणा गरेको छ।
सरकारले सडक, पुल, सुरुङमार्ग, करिडोर तथा रेलमार्ग निर्माणमा गरिएको यो लगानीले देशको यातायात पूर्वाधार विस्तार, क्षेत्रीय सम्पर्क सुदृढीकरण र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



