रास्वपाको पहिलो महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदै, ३ हजार बढी प्रतिनिधि सहभागी हुने
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। पार्टी स्थापनापछि पहिलो पटक आयोजना हुन लागेको यो महाधिवेशनलाई रास्वपाले आफ्नो संगठनात्मक इतिहासको महत्वपूर्ण मोडका रूपमा लिएको छ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका ७७ जिल्लाका साथै विभिन्न मुलुकमा रहेका वैदेशिक शाखाबाट गरी तीन हजारभन्दा बढी प्रतिनिधि, पर्यवेक्षक तथा पार्टी शुभेच्छुकहरूको सहभागिता रहने जनाइएको छ।

महाधिवेशनको उद्घाटन भरतपुरस्थित गेष्टहाउस चौरमा हुनेछ भने बन्दसत्र तथा निर्वाचन प्रक्रिया चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। पार्टीका अनुसार महाधिवेशन सम्पन्न गर्न करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च व्यवस्थापन प्रतिनिधि शुल्क, पार्टी सदस्य तथा शुभेच्छुकहरूको सहयोगबाट गरिने बताइएको छ।
रास्वपाले महाधिवेशनमा महिला सहभागितालाई विशेष प्राथमिकता दिएको छ। कुल प्रतिनिधिमध्ये कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चित गरिएको पार्टीले जनाएको छ।
![]() |
![]() |
![]() |
|---|
महाधिवेशनको मुख्य आकर्षण नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार असार ९ गते बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न भएको करिब दुई घण्टापछि मतगणना सुरु गरिने आयोगले जनाएको छ।
महाधिवेशनका प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको छ भने दाबी–विरोधको प्रक्रिया सम्पन्न गरी अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयन, दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनका कार्यक्रम पनि निर्वाचन कार्यतालिकामा समावेश गरिएका छन्।
महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकले संशोधित विधान पारित गर्दै पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय बनाएको छ। यसमा १५१ जना महाधिवेशनबाट चयन हुनेछन् भने सातै प्रदेशका सभापति पदेन सदस्य रहनेछन्।
Image Source: © https://mulpatra.com
संशोधित विधानअनुसार १९ सदस्यीय पदाधिकारी संरचना रहनेछ। जसमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति ९एक महिला अनिवार्य०, दुई महामन्त्री, पाँच सहमहामन्त्री ९एक महिला अनिवार्य०, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता तथा तीन सहप्रवक्ता रहनेछन्।
निर्वाचन प्रक्रियाबाट ९९ जना केन्द्रीय सदस्य चयन हुनेछन् भने ५१ जना सभापतिले मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ। बाँकी सदस्य प्रदेशगत तथा समावेशी प्रतिनिधित्वका आधारमा चयन हुनेछन्।
पार्टीभित्र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शीर्ष नेतृत्वमा सहमतिको प्रयास भइरहेको बताइएको छ। सभापति पदमा संस्थापक नेता रवि लामिछाने पुनः चयन हुने सम्भावना बलियो रहेको चर्चा पार्टीभित्र छ। त्यस्तै वरिष्ठ नेता पदमा पनि वर्तमान नेतृत्वलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको बताइएको छ।
यद्यपि उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा भने विभिन्न नेताहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पार्टीभित्र नेतृत्व विस्तारसँगै संगठनात्मक शक्ति सन्तुलन कायम गर्ने विषयलाई पनि महाधिवेशनले सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
रास्वपाले उम्मेदवार तथा प्रतिनिधिका लागि शुल्क पनि निर्धारण गरेको छ। महाधिवेशन प्रतिनिधिले पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै सभापति पदका उम्मेदवारले ५१ हजार रुपैयाँ, उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका उम्मेदवारले ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले २१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
सभापति पदका लागि एक प्रस्तावक र ५१ समर्थक आवश्यक पर्नेछ भने अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि एक प्रस्तावक र २१ समर्थक अनिवार्य गरिएको छ। प्रस्तावक र समर्थक महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ।
महाधिवेशनमा ठूलो जनसहभागिता हुने भएकाले स्वास्थ्य तथा सञ्चार सेवाको विशेष तयारी गरिएको छ। चितवनमा बढ्दो गर्मीलाई ध्यानमा राख्दै उद्घाटनस्थलमा तीनवटा सुविधासम्पन्न एम्बुलेन्स, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ।
उद्घाटनस्थलमा तीनवटा स्वास्थ्य सहायता केन्द्र स्थापना गरिनेछन्। आकस्मिक उपचारका लागि आवश्यक औषधि तथा उपकरणको व्यवस्था गरिएको छ भने थप उपचार आवश्यक परे जिल्लाका प्रमुख अस्पतालमा पठाउने तयारी गरिएको छ।
त्यस्तै, नेपाल टेलिकमले महाधिवेशन अवधिभर दूरसञ्चार सेवा प्रभावकारी बनाउन भरतपुर क्षेत्रका टावरहरूमा अतिरिक्त उपकरण तथा एन्टेना जडान गरी नेटवर्क क्षमता विस्तार गरेको जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक रणनीति, संगठन विस्तार, समावेशी प्रतिनिधित्व तथा नीतिगत दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। सरकारको नेतृत्व गरिरहेको अवस्थामा आयोजना हुन लागेको यो महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्र, संगठनात्मक क्षमता र आगामी राजनीतिक यात्राको मार्गचित्र तय गर्ने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



