जर्मन नकआउट चरणमा, आइभोरी कोस्टसँग २–१ को जित
काठमाडौं। जर्मनीले आइभोरी कोस्टमाथि रोमाञ्चक पुनरागमन जित दर्ता गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। समूह ‘ई’ अन्तर्गत सम्पन्न खेलमा जर्मनीले आइभोरी कोस्टलाई २–१ गोलले पराजित गरेको हो।

खेलको पहिलो हाफमा आइभोरी कोस्टले अग्रता लिएको थियो। कप्तान फ्रान्क केसीले ३०औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई १–० को अवस्थामा पुर्याएका थिए। त्यसपछि जर्मनीले बराबरी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि पहिलो हाफमा सफल हुन सकेन।
दोस्रो हाफमा प्रशिक्षक जुलियन नागेल्सम्यानले गरेका रणनीतिक परिवर्तन जर्मनीका लागि निर्णायक सावित भए। ६०औँ मिनेटमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी डेनिस उन्डाभले ६८औँ मिनेटमा नादिम अमिरीको पासलाई सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए।
![]() |
![]() |
![]() |
|---|
बराबरीपछि दुवै टोलीले जितका लागि प्रयास जारी राखे। खेल अतिरिक्त समयमा प्रवेश गरेपछि जर्मनीले निर्णायक प्रहार गर्यो। इन्जुरी समयको ९४औँ मिनेटमा फेलिक्स नमेचाको पासमा उन्डाभले उत्कृष्ट गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाए।
यस जितसँगै जर्मनीले लगातार दोस्रो विजय हासिल गर्दै ६ अंकसहित समूह ‘ई’ को शीर्ष स्थानमा उक्लिएको छ। जर्मन टोलीले सन् २०१८ र २०२२ विश्वकपमा समूह चरणबाटै बाहिरिनुपरेको निराशाजनक इतिहासलाई पछाडि पार्दै यसपटक नकआउट चरणमा स्थान बनाएको हो।
पराजित आइभोरी कोस्ट भने ३ अंकसहित दोस्रो स्थानमा रहेको छ। अब अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न उसले आफ्नो अन्तिम समूह खेलमा कुरासाओविरुद्ध जित निकाल्नुपर्ने दबाबमा रहेको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



